महामारीका बेला काम नगर्ने लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त


 


बुटवल, चैत्र २६
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना संक्रमणको बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्‍न भनेको छ। तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए। ‘हामीले हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्छ, मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो, ‘उनले भने।

महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदा बाहेक अन्य बिदा नपाउने मन्त्रालयले बताएको छ । यी चिकित्सकले जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले लापरवाही गर्ने चिकित्सकलाई कारबाही सुरु गरिएको जनाएको छ । सेवा प्रवाहमा बेवास्था गर्नेलाई सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्