छिमेकीद्वारा बालिका बारम्बार बलात्कृत हुँदा गर्भवती, २ जना पक्राउ


 


विराटनगर, चैत्र २६
मोरङमा छिमेकीद्वारा एक १४ वर्षीया बालिका बाराम्बार बलात्कारकाे शिकार भएकी छिन्। पथरीशनिश्चरेकी ती बालिका बलात्कारपछि गर्भवती भएको घटना लामो समयपछि बाहिर आएको हाे ।

उनी पथरीशनिश्चरे नगरपालिका–८ का २८ वर्षीय रामकुमार माझीबाट पहिलो पटक गत मंसिर २४ गते दिउँसो बलात्कृत भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनका अनुसार बालिकाको पेटमा अहिले चार महिनाको गर्भ छ ।

त्यतिबेला भएको बलात्कारबाट उनी गर्भवती भएको कुरा स्वास्थ्य परीक्षणका क्रममा खुलेको जानकारी गिरीले दिए । ‘कोही पनि नभएको अवस्थामा घरमा पुगेर डर, त्रास देखाउँदै जबरजस्ती बलात्कार गरेको खुल्यो,’ उनले भने, ‘घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिइएका कारण डरले यस बारे बालिकाले कोही कसैलाई नभनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

पहिलो पटक बलात्कृत भएर गर्भवती बनेकी ती बालिका फेरि दोस्रो पटक अर्कै युवाबाट बलात्कारको शिकार बनिन् । प्रहरीका अनुसार पथरीशनिश्चरे–८ कै २० वर्षीय विशाल माझीबाट चैत ८ गते साँझ उनी बलात्कृत भइन् । घरमा बालिका मात्रै भएको अवस्थामा विशालले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

‘बारम्बार छिमेकीबाट बलात्कृत हुन थालेपछि सहन नसकेर मात्रै उनले भाउजूलाई घटनाका बारेमा सुनाएको पाइयो ।’ डीएसपी गिरीले भने । बालिकाले भाउजूलाई पनि दोस्रो पटक बलात्कृत भएको घटनाका बारेमा मात्रै सुनाइएकी थिइन्। विशालविरुद्ध जाहेरी परेपछि बालिकाको स्वास्थ्य परीक्षण गर्दा मात्रै उनको पेटमा चार महिनाको गर्भ रहेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले बालिकालाई दोस्रो घटना गराउने विशाललाई मंगलबार पक्राउ गरेको थियो। पहिले बलात्कार गर्ने रामकुमारलाई पनि प्रहरी बुधबार बिहान पक्राउ गरी पक्राउ घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

बलात्कृत भएर आफू गर्भवती भए पनि उनले आफन्त र अभिभावकलाई समेत नसुनाउँदा लामो समयसम्म घटना बाहिर आउन नसकेको तथा घटनामा संलग्नमाथि कारबाही अघि बढ्न नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्