मेडिकल सामग्रीको कालोबजारी गरेको आरोपमा जगदम्बा ग्रुपका अग्रवाल पक्राउ


 


काठमाडौं । कोरोना भाइरसको महामारीका बेला मेडिकल उपकरणमा कालोबजारी गर्ने नेपाल उद्योग परिसंघ(सीएनआई )का उपाध्यक्ष तथा जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल पक्राउ परेका छन् । जगदम्बा ग्रुप अन्तर्गत  जगदम्बा स्टिल र जगदम्बा सिमेन्ट सन्चालित छन्। अग्रवाललाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको  महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

अग्रवालले किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी प्रयोग गर्दैआएका थिए । उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएका थिए । ती सामग्रीमध्ये इन्फारेड थर्मल गन ६० हजार पीस ल्याएका थिए ।

इन्फारेड थर्मल गनको बजारमूल्य ३ देखि ५ हजार रुपैयाँ पर्न आउँछ । त्यसमा जहाज भाडा जोड्दा ७ हजार रुपैयाँ हुनसक्छ । तर अग्रवालले १६ हजार रुपैयाँमा बिक्री गर्दैआएका थिए ।अग्रवालबाट १६ हजारमा लिएर त्रिपुरेश्वरका तिरुपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २० हजार रुपैयाँसम्ममा थर्मल गन बिक्री गर्दैआएका थिए । एन ९५ मास्कको बढीमा ३ सय पर्ने भए पनि अग्रवालले ७ सय रुपैयाँमा बिक्री गर्दैआएको सूचनाका आधारमा प्रहरीले उनको निगरानी गरेको थियो ।

अपराध  महाशाखाका प्रहरीले ग्राहकको भेषमा अग्रवालसँग सम्पर्क गरेका थिए । उनले सुरुमा १ सय पिसमात्र रहेको बताए । पछि डेढ सय पीस थर्मल दिन तयार भए प्रतिथान १६ हजार रुपैयाँमा । अपराध महाशाखाको टोलीले पैसा लिएर जाँदा उनी कूटनीतिक नियोगका ब्यक्तिले प्रयोग गर्ने २०९ एचसीसी १ गाडीमा आए । र, थर्मल गन सोही गाडीबाट निकालेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 

उनले कूटनीतिक नियोगको नम्बर प्लेट भएको किर्गिस्तानको बाणिज्यदूतका गाडीमा राखेर  थर्मल गन कालोबजारी गर्दै आएको खुलेको छ । प्रहरीले अग्रवालमाथि थप अनुसन्धान थालेको छ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्