काेराेनाकाे कहर: कर्मचारीको मृत्यु भए १० लाख क्षतिपूर्ति


 


सुर्खेत, चैत्र २४
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खटिएका कर्मचारीको मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गरेको छ । नगरपालिकामा कार्यरत कुनै पनि कर्मचारी कोरोनाको संक्रमण रोक्न खटिएकै कारण ज्यान गएमा यो क्षतिपूर्ति दिने निर्णय नगरपालिकाले गरेको हो ।

यही क्रममा कोरोनाको रोकथाममा खटिएका कर्मचारीको कोरोना संक्रमणकै कारण मृत्यु भएमा क्षतिपूर्ति दिने निर्णय भएको वीरेन्द्रनगरका कार्यवहाक मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

‘नगरमा कोरोनाको संक्रमण भित्रिन नदिन पूर्वतयारी अपनाएका छौं’, कार्यवहाक मेयर ढकालले भनिन्,‘संक्रमण रोकथाम गर्नका लागि जनप्रतिनिधि र कर्मचारी खटिएका छौं, यसक्रममा जनप्रतिनिधिलाई संक्रमण भए नगरपालिकाले नै निशुल्क उपचार गर्नेछ । यदी कुनै पनि कर्मचारीको कोरोनाबाटै ज्यान गएको खण्डमा भने आश्रित परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेका छौं ।’ उनले कोरोनाको संक्रमण रोक्न नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी निरन्तर खटिएको जानकारी दिइन् । कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको वीरेन्द्रनगरमा कोरोना संक्रमण नियन्त्रण गर्न नगरपालिकाले दुई करोड रुपैयाँको विपद् कोष पनि स्थापना गरेको छ ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्