भारतमा प्रधानमन्त्रीदेखि सांसदसम्मको तलब कटौती, राहतकोषमा लगाउने घोषणा


 


नयाँदिल्ली चैत २४ एजेन्सी

भारतले प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गर्दै राहतकोषका जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वभर बनेको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो ।

भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसद तलब कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको जनाएका छन् । उनका अनुसार, यो निर्णय अप्रिल १ देखि लागू हुनेछ ।

उक्त प्रस्ताव पारित भएसँगै सांसदको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुनेछ । त्यसरी कटौटी गरिएको रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्चिने बीबीसीले उल्लेख गरेको छ ।

जावडेकरका अनुसार, राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेका छन् । सांसदलाई क्षेत्रीय विकासको लागि दिइँदै आएको कोष एमपीलेड फण्ड पनि दुई वर्षसम्मका लागि निलम्बित गरिएको छ । यो कोषको प्रयोग पनि कोरोना भाइरसविरुद्धको लडाइँमा प्रयोग हुनेछ ।

यसका साथै स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्ध सबै राज्य नेशनल हेल्थ मिसन र राज्य आपदा राहत कोषको पैसाको पैसा प्रयोग गर्न सकिने बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका छ सय ९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि चार हजार नाघेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म दिल्लीको निजामुद्दीनमा भएको तबलीगी जमातको कार्यक्रमसँग सम्बन्धित एक हजार चार सय ४५ संक्रमित फेला परेका छन् । भारतमा समग्र मृतकको संख्या पनि एक सय नौ पुगेको छ । साथै दुई सय ९२ बिरामी निको भएका छन् ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्