कोरोना भन्दा खतरनाक ट्रम्प: इरानी अधिकारी


 


तेहरान, चैत्र २४
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस भन्दा पनि खतरनाक भएको इरानका एक अधिकारीले बताएका छन् । इरानी नौसेनाका प्रमुख अली शमखानीले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

कोरोना भाइरस रोकथामका लागि इरानमा ल्याउन लागिएको आवस्यक मेडिकल उपकरण तथा अत्यावस्यक सामग्री अमेरिकाले रोकेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् । इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव समेत रहेका उनले अमेरिकाले गरेको कामलाई मानवताविरोधी अपराध भएको पनि बताए ।

शमखानीले अघि भनेका छन्, ‘ट्रम्प कोरोना भाइरस भन्दा धेरै खतरनाक छन् ।’ महामारीका बेला इरानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्न लागेको सहयोगको प्रयासलाई पनि अमेरिकाले रोकेको उनको आरोप छ । ‘स्वास्थ्य सामग्रीमा प्रतिबन्ध लगाइनु अवैध र अमानवीय कार्य हो, र ट्रम्पको खुला शत्रुताको संकेत हो,’ शमखानीले भनेका छन् ।

इरानमा कोरोना भाइरसका कारण ३ हजार ६ सय को मृत्यु भइसकेको छ । ६० हजार संक्रमित भएका छन् । तर ट्रम्पले भने गत शुक्रबार कोरोनाविरुद्धको लडाइँमा इरानलाई सहयोग गर्नु आफ्नो नैतिक जिम्मेवारी भएको बताएका थिए ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्