अन्तत: चिनियाँ औषधि खरिद प्रकरणमा अख्तियारले लियाे यस्ताे एक्सन


 


काठमाडौँ, चैत्र २४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट कागजात झिकाएर चीनबाट औषधि खरिद गर्दा भएको अनियमितताको अनुसन्धान थालेको छ । उजुरीको अनुसन्धान गत बिहीबारदेखि नै गरिरहेको अख्तियारले कागजात झिकाएर हेर्दा त्रुटि भेटिए थप प्रक्रिया अघि बढाउने रणनीति बनाएको हो ।

अख्तियार स्रोतका अनुसार पछिल्लो निर्णयका साथै त्यसअघिको सार्वजनिक बोलपत्र र त्यसक्रममा १९ वटा सप्लायर्सले पेस गरेको कागजात पनि अध्ययनका क्रममा झिकाइएको छ । अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भने अनुसन्धान चलेको विषय आफूलाई थाहा नहुने प्रतिक्रिया दिए । अख्तियारले गत बिहीबार नै स्वास्थ्य सेवा विभागका महादिर्नेशक महेन्द्र श्रेष्ठसँग प्रारम्भिक सोधपुछ गरिसकेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिता सार्वजनिक भएपछि गत बुधबार स्वास्थ्य मन्त्रालयले खरिद सम्झौता एकाएक रद्द गरेको थियो । बजार मूल्यभन्दा महँगोमा खरिद गरेको, गुणस्तरहीन र मापदण्डविपरीतका किट सेटिङका आधारमा खरिद भएको खुलेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र कोभिड–१९ नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलकै भूमिकामाथि समेत प्रश्न उठेको हो ।

अख्तियार स्रोतका अनुसार स्वास्थ्य सामग्री खरिदको विषयमा सार्वजनिक खरिद ऐनअनुसार कामकारबाही भए नभएको भनी अनुसन्धान हुनेछ । आपूर्तिका लागि कम्पनीहरूसँगको छलफलमा मन्त्री ढकालका साथमा मन्त्रालयका विज्ञ भनी नियुक्त पाएका डा. खेम कार्की, मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेललगायत संलग्न थिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्