काेभिड-१९: पाकिस्तानमा लकडाउन नगर्ने पक्षमा किन अडिग छन् खान ?


 


एजेन्सी। पाकिस्तानका अधिकांश उर्दु पत्रिकाहरुमा कोरोना भाइरस सम्बन्धित खबरहरु नै छापिएका छन्। त्यस बाहेक अमेरिकी पत्रकार डानियल पर्लको हत्या आरोपमा सजाय भोगिरहेका चरमपन्थी अहमद उमर सइद शेखको रिहासँग जोडिएका खबरहरु पनि उत्तिकै चर्चामा छन्।

पाकिस्तानमा शनिबार राती १२ बजेसम्ममा दुई हजार आठ सय बीस जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यसमध्य ४१ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्य सबैभन्दा धेरै एक हजार एक सय ३१ जना पञ्जाव प्रान्तका छन्।

तर अवस्था भयावह बन्दै जाँदा पनि पाकिस्तानका प्रधानमनत्री इमरान खान लकडाउन लागू गर्न तयार छैनन्। शुक्रबार पत्रकारसँग उनले फेरि भने ‘बाइस करोड मानिसलाई बन्द गर्न सकिँदैन।’

लगत्तै उनले कसैले पनि पाकिस्तानमा कोरोना भाइरसको खतरा छैन भन्ने बुझाइ भने राख्न नहुने तर्क अघि सारे। तत्काल लकडाउन गर्न नसक्नुको कारण प्रष्ट्याउँन समेत पछि परेनन्। भने – पाकिस्तानमा एकातर्फ कोरोना छ र अर्कोतर्फ भोक। त्यसैले यस्तो अवस्थामा बन्द गर्नु भनेको मानिसलाई भोकले मार्नु सरह हो।

उनले बढी भिडभाड हुने सार्वजनिक स्थलहरु भने बन्द गर्ने बताए। आफ्ना नागरिकलाई पूर्ण सावधानी अपनाउन अपिल गर्दै भने, ‘यो उपाय प्रभावकारी नभएको खण्डमा अप्रिल १४ तारिखका दिन पुनर्विचार गरिनेछ। नयाँ कदम उठाइने छ।’

प्राय ठाउँमा जनताले उनको निर्णयमा साथ दिएका छन्।

शुक्रबार मुसलमानहरुको विशेष दिन। अर्थात् जुमेको नमाज पढ्ने दिन। त्यस दिन पनि मस्जिदहरुमा भिड लागेन। मानिसहरुले धार्मिक कट्टपन्थीपन देखाएनन्। घरमै नमाज पढे। कुनै कुनै मस्जिदमा भने तीनदेखि पाँच मानिस बसेर नमाज पढे। सामाजिक दूरी कायम राख्दै।

तर, कराचीको एक मस्जिदमा भने अवस्था सामान्य रहेन। जुमेको नमाज पढ्नकै लागि मानिसहरु आए। सुरक्षाकर्मीले रोक लगाउन खोजे। झडप भयो। केही मानिस घाइते समेत भए। प्रहरीले मस्जिद व्यवस्थापन समितिका चार जनालाई पक्राउ गर्‍यो।

अब पालो दोस्रो विषय अर्थात् चरमपन्थी अहमद उमर सइद माथिको चर्चा।

अहमद उमर सइद शेखलाई रिहा गर्ने आदेशलाई पाकिस्तान सरकारले रोक लगायो। उनलाई पक्राउ गरेर पुन: तीन महिनाका जेल पठाइयो। नवाए वक्त नामक पत्रिकाले जनाए अनुसार पाकिस्तान सरकारले सिन्ध उच्च अदालतको उक्त फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ।

अहमद उमर सइद शेखले अमेरिकाका खोजी पत्रकार डानियल पर्लको अपहरणपछि हत्या गरेको पुष्टि भएको थियो। लगत्तै मृत्युदण्डको सजाय दिइएको थियो।

पर्लको सन् २००२ मा कराचीबाट अपहरणपछि हत्या गरिएको थियो। त्यस समय ३८ वर्षका थिए उनी, ‘द वाल स्ट्रीट जर्नल’का दक्षिण एसिया ब्यूरो प्रमुख।

उक्त घटनापछि दोषी प्रमाणित भएका उमर र उनका तीन साथीहरुलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर घटना घटेको १८ वर्षपछि सिन्ध उच्च अदालतले उमरलाई अपहरणमा मात्र संलग्न देखिएको भन्दै रिहा गर्ने फैसला सुनायो। अपहरणको लागि सात वर्षको कैद सजाय भोगिसकेको भन्दै रिहाइको आदेश दिइएको थियो।

उक्त फैसलालाई अमेरिकाले अपमानजनक भएको दावी गर्‍यो। नवाए वक्तका अनुसार अमेरिका विदेश विभागका दक्षिण एसिया मामलाका प्रमुख एलिस वेल्सले भने,’डानियल पर्लको हत्याका दोषीको सजाय उल्टाउनु अपराधीलाई बढवा दिनु हो।’

पाकिस्तानका विदेश मन्त्री शाह महमूद क़ुरैशीले पनि अदालतको यस निर्णयप्रति गुनासो व्यक्त गरे। अमेरिकी गुप्तचर विभाग सीआइएको दबावकै कारण पाकिस्तान सरकारले उमर शेखको तत्काल रिहाइमा रोक लगायो।

सिन्धको प्रांन्तीय सरकारले एक आदेश जारी गर्दै भनेको छ – उमर शेख र उनको साथीहरुको कारण कानूनी व्यवस्था बिग्रन सक्ने आशंकामा उनीहरुलाई हाल रिहा नगर्ने निर्णय भएको हो।

सन् १९९९ मा भारतीय विमान आइसी – ८१४ हाइज्याक भयो। उक्त विमानलाई कन्धाहर पुर्‍याइएको थियो। अपहरणकारीले उक्त विमान हाइज्याक गरेर भारतस्थित गाजियावाद कारागारमा रहेका तीन ‘इस्लामिस्ट’को रिहा गर्ने पर्ने माग राखेका थिए। उनीहरु विदेशी नागरिकको अपहरणको आरोपमा थुनिएका थिए। जसमध्य एक थिए उमर। त्यस लगत्तै चर्चामा आएका थिए उनी।

तिनै अहमद उमर सइद शेखले पुन: पाकिस्तानी तथा केही विदेशी पत्रिकाको हेडलाइन बने। तर, उनले रिहाको खुशी मनाउन पाउनु अघि फैसला रद्द भयो।

अब केही समय पाकिस्तानी सञ्चार माध्यमहरुमा कोरोना भाइरस संक्रमणविरुद्धका सामाग्री, संक्रमितको स्थिति आदिले ठाउँ पाउँने छन्।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्