एघारा जिल्लाका वनमा डढेलो, अधिकांश स्थानकाे आगो नियन्त्रणमा छैन


 


काठमाडौं, चैत्र २३
एकै दिन एघारा जिल्लाका वनमा डढेलो लागेकाे छ। बितेको २४ घण्टामा झापा, इलाम, सुनसरी, बारा, चितवन, महोत्तरी, सप्तरी, सर्लाही, तनहुँ, उदयरपुर, धादिङ लगायतका जिल्लाका वनहरुमा धेरै डढेलो लागेकाे हाे । धेरै स्थानमा अझै आगो नियन्त्रणमा आएको छैन ।

वन विभागको तथ्यांकअनुसार आइतबार मध्यान्हबाट बितेको २४ घण्टामा देशरभर ३७ ठाउँका डढेलो लाग्यो । कतिपय स्थानमा अहिले पनि लागिरहेको छ ।

वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्मा यो तथ्यांक देखेर आफूहरु अच्चमित भएको बताउँछन् । ‘हामीलाई यसपटक अधिकांश मान्छे घरभित्र भएकाले डढेलोको घटना कम हुन्छ भन्ने विश्वास थियो,’ उनी भन्छन्, ‘तर रोचक के छ भने घट्ने हैन, डढेलो लाग्ने क्रम विगतको यही समयको तुलनामा अहिले बढी छ ।’

देश लकडाउनमा छ, सरकारलाई विश्वास छ कि सबै नागरिक घरभित्र सुरक्षित रुपमा बसीरहेका छन् । तर, सरकारकै अधिकारीहरुलाई भने सबै मान्छे घरभित्रै छन् भन्नेमा विश्वास छैन । कारण हो, वनहरुमा भइरहेका आगलागीका अत्यधिक घटना ।

औसतमा वर्षमा नेपालमा औसत २५ सय वटा आगलागीका घटना हुन्छन् । यस्तो आगलागीको घटना मुख्य रुपमा यसै सिजनमा हुन्छ । औसत करिब २ लाख हेक्टर वन क्षेत्रलाई आगोले प्रभावित गर्छ । यो वर्ष पनि सो तथ्यांकमा कमी आउने अवस्था नदेखिएको उपसचिव शर्मा बताउँछन् ?

२०१९को अप्रिल ५ मा ६ वटा जिल्लाका १४ ठाउमा आगलागी भएको थियो । २०१८को अप्रिल ५ मा १२ जिल्लाका ३४ वटा जंगलमा आगो फैलिएको थियो ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्