काेराेनाकाे कहर: अमेरिकामा एकैदिन १,०४८ को मृत्यु हुँदा फ्रान्समा १,०५३ ले ज्यान गुमाए


 


एजेन्सी, चैत्र २३
कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ । हालसम्म १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।यसका साथै, फ्रान्समा एकैदिन मृत्यु हुनेको संख्या हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ५३ जनाले कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यहाँ हालसम्म मृतकको कूल संख्या ७ हजार ५ सय ६० पुगेको छ । एकैदिन ७ हजार ७ सय ८८ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ८९ हजार ९ सय ५३ पुगेको छ । संक्रमितमध्ये ६ हजार ८ सय ३८ गम्भीर स्थितीमा छन् । साथै, १५ हजार ४ सय ३८ जना निको भएर घरसमेत फर्किसकेका छन् ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्