नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा, लकडाउन कडाइका साथ पालना गर्न आग्रह


 


काठमाडाैँ, चैत्र २२
सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिदैँ यस्ताे घाेषणा गरेकाे हाे ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो। आठौँ संक्रमित कैलालीका २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो। त्यसैगरी नवौँ संक्रमण कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको हो।

उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो। तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।

कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनका आफुन्तलाई पनि कोरोना संक्रमण भएको हो।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि चैत २० मा कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो। यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन्। उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन।

उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन्। योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो। त्यसभन्दा पहिले दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो।

कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएका भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको थियाे। लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्