काेराेना संक्रमण भएका थप तीन जना कहाँबाट आएका हुन्?


 


काठमाडाैँ, चैत्र २२
नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका दुई जनासहित तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो। आठौँ संक्रमित कैलालीका २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो। त्यसैगरी नवौँ संक्रमण कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको हो।

उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो। तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।

कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनका आफन्तलाई पनि कोरोना संक्रमण भएको हो।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्