घरी पोजेटिभ,घरी नेगेटिभ: कसरी पत्याउने चिनियाँ सामग्री सक्कली हाे?


 


काठमाडाैँ, चैत्र २२
शुक्रबार दिउँसो स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै सचिवालयबाट पोखरामा एकजना कोरोना संक्रमित भेटिएको सूचना पत्रकारहरुसम्म पुग्यो। उता पोखरामा पनि गण्डकी प्रदेशका एकजना मन्त्रीले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट एकजनामा पोजेटिभ देखिएको सूचना दिए।

स्वास्थ्य मन्त्रीको सचिवालय र गण्डकी प्रदेशका एकजना मन्त्रीले पनि भनिसकेपछि धेरै सञ्‍चारमाध्यमले पोखरामा सातौं संक्रमित भेटिएको समाचार बनाए। तर अन्तिममा स्वास्थ्य मन्त्रालयले उक्त कुरा नभएको जानकारी दियो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुराबारे व्याख्या गरेका थिए। त्यति मात्रै होइन, गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा पनि शुक्रबार एकजना कोरोना संक्रमित भेटिएको भन्दै तथ्यांक नै बढाएर राखियो। मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा नेपालमा सातजना कोरोना संक्रमित भेटिएको र एकजना निको भएको विवरण उल्लेख थियाे।

साेही क्रममा पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको खुलासा भएकाे छ।

डा. देवकोटाले पोखराको कोरोना परीक्षण ल्याबको मेसिन भर्खर जडान गरिएकाले उसले अहिले नै दिने पोजेटिभ या नेगेटिभ रिपोर्टलाई पत्याइहाल्न नसकिने उल्लेख गरे। स्रोतका अनुसार डा. देवकोटाले भने जस्तै पोखराको ल्याबमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पोजेटिभ देखाएको थियो। तर काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा भारतबाट आएका बागलुङका तिनै व्यक्तिको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो।

कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो । दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।

‘अस्तिबाट सच्चालन गरिएको पोखराको मेसिनमा पोजेटिभ देखिए पनि त्यसको निश्‍चित समयसम्म परीक्षण पूरा नभइ रिपोर्टलाई मान्‍न सकिँदैन’, देवकोटाले भने, ‘नयाँ मेसिन भएको केही नमूनाहरुको एक पटक पुन टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न लागिएको छ। तर यो सधैँलाई हुँदैन, केही समयसम्म परीक्षण गरेर मेसिनले राम्रो काम गर्न थालेको प्रमाणित भएपछि पोखराकै रिपोर्टलाई मान्यता दिन्छौं।’

अहिले प्रदेशमा विस्तार गरेका मेसिनहरुको ‘भ्यालिडेसन’को कुरामा केही समय प्रश्‍न उठ्न सक्ने देवकोटाको तर्क थियो। ‘नयाँ मेसिनले दिने रिपोर्टलाई तत्कालै आधिकारिक मान्‍न सकिँदैन’, उनले भने, ‘केही संख्याको परीक्षण यथेष्टरुपमा आएर अन्त पनि प्रमाणित भएपछि हामी त्यसलाई मान्यता दिन्छौँ।’

उनले मेसिन र रिएजेन्टहरुका केही नमूना परीक्षणका रुपमा हेरिने बताए। ‘यो सधैँका लागि गर्नुपर्दैन’, उनले भने, ‘केही केसहरु शंकास्पद भएपछि त्यहाँ यहाँ दुवै ठाउँमा परीक्षण हुन्छ। अनि मात्रै फाइनल हुन्छ।’

यस्ताे विपतकाे बेलामा पनि प्रयाेग गर्न हतार भइरहेकाे समयमा खरिद गरिएकाे चिनियाँ स्वास्थ्य उपकरण नक्कली हाे की सक्कली हाे भनेर सरकार बस्याे भने काेराेना भाइरस फैलिन सक्ने सम्भावना बढी हुने जानकारहरू बताउँछन्।

खरिद गर्ने बेलामा सक्कली हाे भनेर खरिद गरिएकाे चिनियाँ स्वास्थ्य उपकरणले किन घरी पाेजेटिभ घरी नगेटिभ रिपार्ट देखाउँछ। स्वास्थय क्षेत्रका जानकारहरूका अनुसार खरिद गरिएकाे चिनियाँ स्वास्थ्य उपकरण मध्ये किट वा मेशिनमा खराबी रहेकाे छ।

यसअघि स्पेन र इटलीमा चीनले नक्कली किट पठाएकाे धाेका गरेकाे त्यहाँकाे सरकारी अधिकारीहरूकाे भनाइ छ। नक्कली किटकै कारण अहिले त्यहाँकाे अवस्था भयाभय भएकाे छ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्