संविधान अनुसार काम गरेका छौं: सेना


 


काठमाडाैँ, चैत्र २२
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले संविधानमै नेपाली सेनालाई निर्माण र विपद् व्यवस्थापनलगायत काममा पनि परिचालन गर्न सकिने व्यवस्था भएअनुसार नै सरकारले विभिन्न जिम्मेवारी दिएको बताएका छन्। उनले सरकारले दिएको जिम्मेवारी सेनाले पूरा गर्दै आएको पनि स्पष्ट पारेका छन्।

प्रवक्ता  पाण्डेले कोरोना प्रकोपलाई ध्यानमा राखेर सेनाले पहिलेदेखि नै आन्तरिक तयारी गरिरहेको अवस्थामा सेनालाई सरकारले स्वास्थ्य सामग्री खरिद गर्न दिएको जिम्मेवारी विपद् व्यवस्थापनकै पाटो भएको बताए। उनले जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री आयात गर्ने काम स्वास्थ्य मन्त्रायसहितका सबै सरोकारवाला निकायको सहभागितामा कोभिड १९ क्राइसिस म्यानेटमेन्ट सेन्टर अपरेसनमार्फत भइरहेकाले अन्यथा लिन नहुने बताए।

‘संकटका बेला सरकारले हामीलाई विश्वास गरेर जिम्मेवारी दिएको छ, हामी विधि र प्रक्रिया पु¥याएर काम गर्छाैं, यसमा अनियमितता हुने कुनै सम्भावना हुँदैन,’ उनले भने। प्रवक्ता पाण्डेले संविधान अनुसार सरकारले विश्वास गरेर दिएको जिम्मेवारीबाट सेना पछि नहटने पनि बताए। ‘सरकारले संविधानको प्रावधान अनुसार हामीलाई दिएको जुनसुकै जिम्मेवारी पनि पूरा गर्नु हाम्रो कर्तव्य हो, हाम्रो बलबुताले भ्याससम्म हामीले जिम्मेवारी पूरा गर्छौं, कुनै विवाद आउने काम हुन दिँदैनौं,’ उनले भने।

नेपालको संविधानको धारा २६७ मा सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने उल्लेख छ। सोही धाराको उपधारा ४ मा सेनालाई संघीय कानुन अनुसार निर्माण र विपद् व्यवस्थापनलगायत काममा पनि परिचालन गर्न सकिने उल्लेख छ। नागरिक दैनिकबाट

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्