कोरोनाबाट मृतककाे संख्या ५९ हजार नाघ्यो, एकैदिन ८२ हजार संक्रमित थपिए


 


एजेन्सी. चैत्र २२
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । शुक्रबार एकैदिन ५ हजार ९ सय व्यक्तिले ज्यान गुमाएसँगै मृतकको संख्या ५९ हजार नाघेको हो ।

पछिल्लो विवरण अनुसार कोरोनाबाट इटालीमा मृतकको संख्या साढे १४ हजार पुगेको छ । त्यहाँ २४ घण्टामा मात्रै ७६६ व्यक्तिले ज्यान गुमाएका छन् । इटालीमा संक्रमितको संख्या १ लाख १९ हजार नाघेको छ ।

यस्तै, अमेरिकामा शुक्रबार मात्रै १३ सय व्यक्तिले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ मृतकको संख्या ६ हजार नाघेको छ । अमेरिकामा २ लाख ७६ हजार संक्रमितको संख्या पुग्दा १२ हजार बिरामी भने निको भएका छन् ।

फ्रान्समा शुक्रबार मात्रै ११ सय व्यक्तिले कोरोना संक्रमण ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या कूल साढे ६ हजार पुग्दा ६४ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

त्यसैगरी पाकिस्तानमा पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित देखिएका थिए । पाकिस्तानमा समग्र संक्रमितको संख्या १ हजार ६२५ पुगेको छ ।

त्यस्तै भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार कोरोना भाइरसका संक्रमित १ हजार ७१ पुगेका छन् भने मृत्यु हुनेको संख्या २९ पुगेको छ । अफगानिस्तानमा पनि यो भाइरसका संक्रमितको संख्या १२० पुगेको छ भने ४ जनाको ज्यान गएको छ । श्रीलंकामा पनि संक्रमितको संख्या १२० पुगेको छ भने अहिलेसम्म भाइरसबाट एक जनाको ज्यान गएको छ ।

बंगलादेशमा ४९ जनामा भाइरसको संक्रमण भेटिएको छ । साथै भाइरसको कारण ज्यान गुमाउनेको संख्या पनि ५ पुगेको छ । माल्दिभ्समा १७, नेपालमा पाँच तथा भुटानमा अहिलेसम्म चारजनामा यो भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्