काेराेनाकाे कहर: एकै कोठामा कोचाकोच


 


बैतडी, चैत्र २१
बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेका मानबहादुर बोहरा ज्यानको बाजी थापी ट्युबमार्फत महाकाली नदी तरेर नेपाल छिरे। उनीसँगै भारतको पिथौरगढामा काम गर्ने चार जना भने भारतीय क्‍वारेन्टाइनमा बसिरहेका छन्।

भारतले धर्मशाला र विद्यालयमा बनाएका क्‍वारेन्टाइनमा नेपाली मजदुर कष्टकर जीवन बिताइरहेको उनले सुनाए। ‘एकै कोठाको भुइँमा धेरै जना बस्नुपर्ने अवस्था छ’, उनले भने, ‘खाने व्यवस्था भारत सरकारले गरेको भए पनि सुत्ने व्यवस्था र बसाइको दूरी ठीक छैन।’

उनले बसोबास राम्रो नहुँदा बझाङ बुंगलका दुई जना क्‍वारेन्टाइनबाट भागेर ट्युबमार्फत महाकाली तरेर नेपाल फर्किएको बोहराले बताए। ‘भारतको त्यो क्‍वारेन्टाइनमा बस्नुभन्दा महाकालीमा बगेर मरे पनि ठीक छ भनेर आएको हुँ’, उनले भने।

पिथौरागढ र आसपासमा मजदुरी गर्ने नेपाली भारतले व्यवस्था गरेको क्‍वारेन्टाइनमा बसेका छन्। उनीहरू बिसु पर्वका लागि घर आउने योजनामा थिए। लकडाउनका कारण क्‍वारेन्टाइनमा बस्न बाध्य भएको उनले सुनाए।

नेपाल सरकारले सीमा नाकाबाट नेपालीलाई नेपाल फर्किन नदिएपछि भारतीय प्रशासनको सहयोगमा झुलाघाटका विभिन्न ठाउँमा २ सय ३७ जना क्‍वारेन्टाइनमा बसेका भारतीय पत्रकार प्रमोद भट्टले बताए। ‘नेपाल प्रवेश गर्न नपाएपछि नेपाली मजदुरहरू तालेश्वरको धर्मशाला, रज्युडा, खरक्युडा र जामिरपानीका आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेका छन्’, उनले भने, ‘उनीहरू आफूसँग भएका कपडा ओछ्याएर बसिरहेका छन्। खानाको व्यवस्था पिथौरागढ प्रशासनले गरेको छ।’

कोरोनाको जोखिम कम गर्न दूरी कायम गरेर बस्नुपर्ने भए पनि नेपाली मजदुर भने एकै कोठामा कोचिएर बस्न बाध्य छन्। क्‍वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

सुर्नया गाउँपालिका–८ ढोलेका दिलीप दमाई गत मंगलबार साँझ महाकाली नदी तरेर नेपाल आइपुगे। पिथौरागढमा मजदुरी गर्ने उनी सीमा नाका बन्द भएपछि ट्युबबाट नेपाल आएका हुन्। ‘बेल्तडीबाट हामी महाकालीमा ट्युबमार्फत वारि आयौं। ट्युबवालाले प्रतिव्यक्ति ६ सय भारु लिएर हामीलाई नेपालतिर पुर्‍यायो’, उनले भने, ‘बन्द भएको अवस्था भनेर ट्युबवालाले बढी रुपैयाँ लिएर महाकाली नदी तार्ने काम गरिरहेका छन्।’

सरकारले कोरोनाको जोखिम बढेको भन्दै सीमा नाका शिल गरेको भए पनि नेपाली ट्युबमार्फत नदी तरेर आइरहेका छन्। ‘हामी आफ्नै देशमा आउन चाहन्छौं। बरु हाम्रो स्वास्थ्य परीक्षण गरेर क्‍वारेन्टाइनमा बस्ने व्यवस्था गरियोस्’, बैतडीका सागर दमाईले भने, ‘हामीले ज्यानको बाजी राखेर आफ्नो देश फर्किनुपर्ने बाध्यताको अन्त्य होस्।’ उनी पनि ट्युबमार्फत महाकाली तरेर फर्किनेमा पर्छन्। अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्