काेराेनकाे सन्त्रास: भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहार


 


कञ्चनपुर, चैत्र २१
धार्चुलामा मात्रै होइन, कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ।

नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्देशिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए।

कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्‍वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग आपने सरकारसे बोलो ना नेपाल जाने के लिए।’

उनीहरूको दुव्र्यहारले हैरान भएको उनले सुनाए। उनी रोजागारीका लागि भारतको हल्द्धानी पुगेका थिए। ‘विद्यालयका कोठामा भुइँमै सुतेका छौं’, उनले भने, ‘खाना त पाएकै छौं तर हामीलाई यातना दिइँदै छ।’ उनीहरू नेपालमा जस्तोसुकै क्‍वारेन्टाइनमा राखे पनि बस्ने बताउँछन्। ‘यताको दुःखभन्दा हामी नेपाल सरकारले जे भन्छ, आफ्नै भूमिमा त्यो गर्न तयार छांै’, उनले भने।

शारदा माविको क्‍वारेन्टाइनमा डडेलधुरा आलितालका महावीर बोहरा पनि छन्। ‘खानेपानीको व्यवस्था छैन। दूषित पानी पिउन बाध्य छौं। कोरोना नभए पनि हामी अरू रोगले मर्ने निश्चित छ’, उनले भने, ‘मरे पनि आफ्नै माटोमा मर्न पाऊँ सरकार।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले लकडाउनका कारण अलपत्र परेका नेपालीको खानेबस्ने व्यवस्था भारतीय पक्षले गरेको बताए। १४ दिन क्‍वारेन्टाइनमा बसेपछि अथवा लकडाउनपछि मात्रै नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ। अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्