भारतका क्‍वारेन्टाइनमा नेपाली


 


सुदूरपश्चिम, चैत्र २१
गरिबीका कारण रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन खोज्दा नेपाल सरकारले रोकेपछि सीमा नाकामा उनीहरूको बिजोग भएको छ। ‘भारतको गाँसभन्दा आफ्नो मुलुकको माटो प्यारो, सरकार हामीमाथि अत्याचार नगर। हामीलाई नेपाल लैजाऊ। हामी तिमीले जहाँ राख्छौ त्यहाँ १४ दिन क्‍वारेन्टाइन बस्न तयार छौं’, दार्चुलाको मार्मा गाउँपालिकाका धनजित महताले भने, ‘यो चिसो स्टेडियमको सिमेन्टको भुइँले शरीर सुन्निन थालेको छ।’

उनी भारतको धार्चुलास्थित मिनी स्टेडियमको हलमा बसिरहेका छन्। भारतीय पक्षले खानाको व्यवस्था गरे पनि अरू व्यवस्थापन नभएको उनले सुनाए। ‘कोठामा सुत्न कुनै साधन छैन। पिफम किन्न बजारमा पाउँदैन’, उनले भने, ‘एकै हलमा सयौं जना बस्नुपरेकाले कसैलाई कोरोना भए पनि सहजै अरूलाई सर्र्ने डर छ।’

क्‍वारेन्टाइनमा कम्तीमा डेढ मिटर दूरीमा बस्नुपर्ने भए पनि धार्चुलामा त्यसको मतलब नभएको दार्चुला मालिकार्जुन गाउँपालिका–२ का चन्द्रसिंह धामीले बताए। ‘अरू देशले जहाज चार्टर्ड गरेर आफ्ना नागरिकलाई लगिरहेका छन्। हाम्राले पनि चीनबाट जहाजमा ठूलाबडाका छोराछोरी ल्याएकै हो’, उनले भने, ‘हामी मजदुरी गर्ने भएकाले हामीलाई कारागारमा राखेझैं गरेको छ।’

सरकारले गरेको क्‍वारेन्टाइनमा बस्न तयार रहेको तर आफ्नै माटोमा फर्किन दिनुपर्ने उनीहरूको माग छ। ‘धेरेै नेपाली सडक किनारमै सुत्न बाध्य छन्। अधिकांश एक सातादेखि भोका छन्। बाहिर बजारमा गएर कहीं कतै किनेर खाऊँ भने पनि बजार बन्द छ’, भारतको क्‍वारेन्टाइनमा रहेका अपिहिमाल गाउँपालिकाका दिलेन्द्र महताले भने, ‘चिसो भुइँमा सुतेका र खुला आकाशमुनि भोकै सुतेकाहरू बिरामी हुन थालेका छन्।’

दार्चुलापारि धार्चुलाका चार र जौलजीबी गरी पाँच ठाउँमा १ हजार १ सय ७० जना नेपाली चिसो भुइँमा बस्न बाध्य छन्। धार्चुलाको मिनी स्टेडियम, बालुवाकोटमा रहेको जीआईसी कलेज भवन, गलातीस्थित फायर ब्रिगेडको नयाँ भवन, महाकाली नदी किनारस्थित गौशाला र जौलजीबी क्षेत्रको रामलीला मैदानमा नेपालीको व्यवस्थापन गरिएको भारतका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले बताए।

कैलालीपारि ७९ जना क्‍वारेन्टाइन
कैलालीको भजनीसँग सीमा जोडिएको खिरी दीपनगरमा ३९ जना र धनगढीपारिको पलियामा ४० जना गरी ७९ जना नेपाली भारतीय क्‍वारेन्टाइनमा छन्। भारतका विभिन्न ठाउँबाट चैत १५ गते नेपाल प्रवेश गर्न खोजेका उनीहरूलाई भारतीय प्रहरीले क्‍वारेन्टाइनमा राखेको हो। ३९ जनालाई भजनी नगरपालिका–५ को लालबोझी घाटबाट नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। ४० जनालाई गौरीफन्टा सीमा नाकाबाट भारतको पलिया लगिएको थियो।

गए हुन्थ्यो भन्नेमा भारतीय पक्ष
भारतले लकडाउनका बेला बसमा चढाएर नेपालीलाई सीमा नाका पुर्‍याउने गरेको थियो। नेपाल सरकारको अनुरोधपछि क्‍वारेन्टाइनमा राखे पनि नेपालै लगिदिए हुन्थ्यो भन्ने मनसाय देखिन्छ। त्यही भएर नेपालीलाई उनीहरूले राम्रो व्यवहार नगरेको पीडितले बताएका छन्।

उनीहरूका अनुसार धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले नेपालीलाई दिनदिनै महाकाली किनारमा गएर नाराबाजी गर्न उक्साउने गरेका छन्। ‘तिमीहरू सीमामा गएर कराऊ, तिम्रो सरकारलाई लैजान दबाब देऊ भन्छन्’, क्‍वारेन्टाइनमा रहेका एक नेपालीले भने, ‘त्यसैले सामान्य खानाबाहेकको कुनै पनि व्यवस्था भारतीय क्‍वारेन्टाइनमा छैन। न सुत्ने दूरी छ न त सुत्नका लागि कुनै व्यवस्था छ न व्यवहार राम्रो छ।’

उनीहरूले बाध्य भएर खाना दिएको उनले सुनाए। भारतका उपजिल्ला अधिकारी शुक्लाले दार्चुलाका सुरक्षा अधिकारीलाई पनि नेपालीलाई नेपाल लैजान दबाब दिइरहेका छन्। ‘नेपालीहरू नेपाल फर्किन चाहन्छन्, तिमीहरू नेपाल लैजाऊ भनेर सुरक्षा अधिकारीलाई दबाब दिने गरेका छन्’, क्‍वारेन्टाइनमा रहेका एक नेपालीले भने। अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्