काेराेनाकाे सन्त्रास: घरबेटीको दबाबपछि स्वास्थ्यकर्मीले जागिर छाडे, केहीले डेरा सारे


 


धनगढी । यहाँका एक युवामा कोरोना भाइरस संक्रमण देखिएपछि जताततै भय र त्रासले अत्यासलाग्दो रुप लिएको छ। बजारबासी त डराएका छन् नै, धनगढीमा सञ्चालित धेरैजसो निजी अस्पतालमा पनि त्यो डर देखिएको छ। उनीहरुले सेवा नै ठप्प गरेका छन्। काम बन्द भएपछि ती संस्थामा कार्यरत स्वास्थ्यकर्मीको जागिरसमेत धरमराएको छ।

डेरामा बस्दै आएका स्वास्थ्यकर्मीहरुलाई घरबेटीले अन्यत्र सर्न भनेपछि उनीहरुलाई दोहोरो मार परेको छ। सारथी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई घरबेटीले डेरा सार्न भनेपछि एक जनाले जागिर छाडेर आफ्नो घर हिँडेका छन्। अरु दुई जना डेरा सार्न बाध्य भएका छन्।

घरबेटीले डेरा सार्न भनेपछि अस्पतालको फार्मेसीमा कार्यरत शेरबहादुर थापा जागिर नै छाडेर आफ्नो घर डोटी हिँडेका छन्। ‘घरबेटीको दबाबले अस्पतालमा कार्यरत दुई जनाले जागिर छाडेका छन्,’अस्पतालका प्रबन्धक बेदप्रकाश जोशीले भने, ‘अर्की एक बहिनी डेरा छाडेर नातेदारको घरमा सर्न बाध्य भएकी छिन्।’ अन्य केही स्वास्थ्यकर्मीलाई पनि सुरुमा घरबेटीले डेरा सार्न भने पनि सम्झाएपछि पुरानै डेरामा बस्न दिएको उनले बताए।

‘मेरो घरबेटीले पनि पहिले डेरा सार्न दबाब दिएका थिए,’ अर्का स्वास्थ्यकर्मी ल्याब टेक्निसियन विजय बोहराले भने, ‘सम्झाइबुझाई गरेपछि अहिले भने बस्न दिएका छन्।’

स्वास्थ्यकर्मीलाई घरबेटीले डेरा सार्न दबाब दिएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको प्रबन्धक जोशीले बताए। अधिकांश निजी अस्पताल बन्द रहेको अवस्थामा सारथीले ओपीडीलगायतका सेवा नियमित प्रवाह गरिरहेको र स्वास्थ्यकर्मीलाई घरबेटीले डेरा सार्न दबाब दिएपछि सेवा प्रवाहमा अप्ठेरो परेको जनाउँदै मंगलबार प्रशासनलाई पत्रमा बुझाएको उनको भनाइ छ। अस्पतालमा हाल ९ जना बिरामी उपचाररत रहेको जोशीले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने सारथीबाट कुनै पत्र प्राप्त नभएको बताएका छन्। ‘हाम्रो जानकारीमा हुनेबित्तिकै चासो राख्छौं,’ उनले भने।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्