लकडाउनमा ठूला आयोजना र उद्योग खोल्न दिने सरकारकाे निर्णय


 


काठमाडौं, चैत्र २०
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले दुई पटक गरी २५ गतेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको छ ।

पहिलो पटक १८ गतेसम्मका लागि लकडाउने गर्ने निर्णय गरेपनि पुनः २५ गतेसम्मका लागि थप गरिएको हो । आज पनि थप एक जनामा कोरोना संक्रमण देखिएसँगै अझै पनि लकडाउन थप्न सक्ने बताइएको छ । यद्यपी यसको पुष्टि भने भएको छैन ।

हालसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ जनालाई निको भइसक्यो भने पाँच जनाको उपचार भइरहेको छ ।

सरकारले लामो समयसम्म उद्योगहरु बन्द हुँदा झन ठूलो समस्या निम्तने भन्दै उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने–‘उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको छ ।’

मन्त्री खतिवडाका अनुसार अरु उद्योगहरुले आवासीय मजदुरहरु राखेर चलाउन चाहे स्थानीय प्रशासनले अनुमति दिने छ ।

यसैबीच तामाकोसी, मेलम्चीलगायतका आयोजनामा अहिले पनि ठूलो संख्यामा कामदार रहेको भन्दै काम सुरु गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाले भने–‘बाहिरका कामदारहरु आउन नदिने र भित्रका कामदारलाई पनि सुरक्षाका सबै उपाय अपनाएर कामलाई निरन्तरता दिने निर्णय भएको छ ।’

सीमामा अलपत्र नेपाली भारतमै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्र नेपाल ल्याइने भएको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेसँगै दुवैतर्फ क्वारेन्टाइनमा राख्ने निर्णय भएको हो ।

सीमामा रहेका नेपाली नागरिकहरु भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन पाउने छन् ।

धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले भने–‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं ।’

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्