भारतबाट विवाह गर्न गाउँ फर्किएको जोडी क्वारेन्टाइनमा


 


जनकपुर, चैत्र २०
केही समयअघि भागेका एक जोडी कोरोना भाइरसको त्रासका कारण पुनः गाउँ फर्किएपछि विवाह नै राेकिएकाे छ। धनुषाको शहिदनगर नगरपालिकामा उक्त घटना भएको हो । लकडाउन अवधिमा भारतबाट फर्किएको दुई दिन नवित्दै ती किशोर र किशोरीको आज विवाह हुने मिति तय भएको थियो । ती दुवैजना भारतबाट आएको भन्दै स्थानीयवासीहरुले उनीहरुलाई तत्काल क्वारेन्टाइनमा पठाएपछि विवाह भाँडिएको हो ।

गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययरत १५ वर्षीय किशोर र गाउँकै करिब १४ वर्षीया किशोरी एक महिना पहिले भागेर दिल्लीमा गएका थिए । भारतमा सरकारले लकडाउन गरेपछि उक्त जोडी गाउँ फर्किएका हुन् । नेपाल–भारत सिमा क्षेत्रमा समेत पूर्णरुपेण शिलबन्दी गरिएको बेलामा एक्कासि आइपुगेको उक्त जोडीलाई देखेर गाउँमा हल्ला मच्चिएको छ ।

होहल्ला पश्चात समाजका केहि पञ्चहरुले केटी पक्षले २ लाख ५० हजार रुपैयाँ दिएमा दुवै जनाको विवाह गराई दिने सम्झौँता गरेको थियो । तर स्थानीयवासीले कोरोना भाइरसको त्रासका बीच यस्तो गर्न नहुने भन्दै शहिदनगर नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य ईकाइ सहसंयोजक सिकिलकुमार यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन स्थलमा अहिलेसम्म एक किशोरी सहित १५ जनालाई चेकजाँचको लागि राखिएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्