दिल्लीको धार्मिक सभामा सहभागी नेपालीको नमुना सङ्कलन, रिपाेर्ट आउन बाँकी


 


काठमाडाैँ, चैत्र १९
भारतको राजधानी दिल्लीमा आयोजित एक मुस्लिम धार्मिक सभामा सहभागी भएका २० जना नेपालीको कोरोनाभाइरस परीक्षणका लागि नमुना लिइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

दिल्लीस्थित विभिन्न क्वारेन्टाइन स्थलमा राखिएका उनीहरूको थुकको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको जानकारी भारतीय अधिकारीलाई उदृत गर्दै नेपाली दूतावासका अधिकारीले दिएका हुन्। ‘उक्त धार्मिक सभामा नेपालीहरू पनि रहेको र उनीहरूलाई पनि क्वारेन्टाइनमा राखिएको भन्ने थाहा पाएपछि हामी भारतीय पक्षसँग निरन्तर सम्पर्कमा छौँ,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

उनका अनुसार भारतीय अधिकारीहरूले दिएको पछिल्लो जानकारी अनुसार सबै नेपालीहरूको नमुना परीक्षणका लागि पठाइसकिएको तर नतिजा आउन बाँकी रहेको छ। ओडारीकाअनुसार दूतावासले परराष्ट्र मन्त्रालयलाई उक्त धार्मिक सभामा सहभागी नेपालीबारे प्राप्त सबै जानकारी पठाइसकेको छ। त्यसका आधारमा उनीहरूसँगै गएका कोही व्यक्ति नेपाल फर्किसकेको भए उनीहरूको खोजी गर्न मद्दत पुग्ने दूतावासले जनाएको छ।

ओडारीकाअनुसार उक्त धार्मिक सभामा सहभागी हुन नेपालका विभिन्न जिल्लाबाट मानिसहरू गएका थिए । उनले भने, ‘यहाँ रहेका २० जना विभिन्न जिल्लाका छन् । अहिले सबैलाई दिल्लीकै विभिन्न क्वारन्टीनस्थलमा राखिएको छ।’

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ । बीबीसी

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्