विश्वभर कोरोनाबाट मर्नेको संख्या ४१ हजार नाघ्यो, संक्रमितको संख्या ८ लाख बढी


 


एजेन्सी, चैत्र १९
कोरोना भाइरस संक्रमणका कारण चौबिस घण्टामा विश्वभर ३४ सय ७७ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ३४ सय ७७ जनाको मृत्यु भएको हो । त्यस्तै मंगलबारसम्म संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ३७ हजार २१ पुगेको छ भने एकैदिन ५२ हजार ३६२ जना संक्रमित भएका छन् । मर्नेको संख्या ४१ हजार २ सय ४५ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी इटालीमा ८ सय ३७ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ सय ५३ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ भने बेलायतमा ३ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा २ सय ९० जनाको मृत्यु भएको छ । उता, बेल्जियममा १ सय ९२ जनाको मृत्यु भएको छ भने इरानमा १ सय ४१ जनाको मृत्यु भएको छ । अमेरिकामा एकैदिन १२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ भने फ्रान्समा ७ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै इटालीमा ४ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ भने स्पेनमा ६ हजार ४ सय ६१ जनामा संक्रमण देखा परेको छ । उल्लेखित तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढ्री अमेरिकामा १ लाख ७६ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।

त्यसपछि इटाली, चाइना, जर्मनी लगायतका देशहरुमा संक्रमित हुनेहरुको संख्या बढी देखिएको छ । इटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने स्पेनमा ८ हजार २ सय ६९ पुगेको छ । त्यस्तै, अमेरिकामा मर्नेको संख्या ३ हजार ४ सय ३१, फ्रान्समा ३ हजार ५ सय २३ इरानमा २ हजार ८ सय ९८, बेलायतमा १ हजार ७ सय ८९, नेदरल्यान्डमा १ हजार ३९ जनाको अहिलेसम्म मृत्यु भएको छ । अन्य देशमा पनि मृत्युदर बढिरहेको देखिएको छ । तर संक्रमण सुरु भएको चीनमा भने महामारी नियन्त्रणमा आइसकेको छ ।

एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ । दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ६९० सङ्क्रमित छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा एक हजार १ सय जना भन्दा बढी सङ्क्रमित छन् भने ४० जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्