मेयर र नेकपा नगर अध्यक्ष नै गाँजा तस्कारीमा, दुबैविरुद्ध पक्राउ पूर्जी


 


राैतहट, चैत्र १८
रौतहटमा मेयर र नेकपा नगर अध्यक्ष नै गाँजा तस्कारीमा मुछिएका छन्। ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र मेयर मेहताका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहता गाँजा तस्कारीमा मुछिएका हुन्। जस कारण उनीहरूकाे पद समेत धरापमा परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुवै जनाविरूद्द पक्राउ पुर्जी जारी गरेकाे छ। गाँजा तस्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले मेयर सन्ताेष र नेकपा नगर अध्यक्ष माेहन दाजुभाइलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पूर्जी पठाएको हो।

घटना गत माघ ११ गते को हो। सो दिन हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा रहेको प्रहरीको टोलीले पूर्व–पश्चिम लोकमार्गमा एउटा एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार दुई सय रुपैयाँसमेत बरामद भएको थियो। रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छवटा पोकामा गाँजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे थियो।

एम्बुलेन्समा चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भइरहेको छ।

अदालतमा विनोद सहनीले दिएको बयानको आधारमा अदालतले रौतहटको ईशनाथ नगरपालिकाका मेयर मेहता र उनका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पक्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको हो। जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएको बताउँदै खोजबिन भइरहेको जनाएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर मेहताको पद धरापमा परेको छ। मेयर मेहता र भाइलाई पक्राउ पूर्जी जारी भएपछि ईशनाथ नगरपालिकामा खैलाबैला मच्चिएको छ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्