काेराेना पीडित परिवारकाे स्वाब संकलन नगरेको भन्दै आलोचना


 


काठमाडाैँ, चैत्र १८
सेती प्रादेशीक अस्पतालमा कोरोना रिपोर्ट पोजेटिभ भेटिएका युवाका आफन्तको थ्रोट स्वाब संकलन नै नगरी उनीहरुलाई घरमै क्वारेन्टाइन बस्ने गरी फिर्ता गरिएकाे छ । दुई दिनसम्म धनगढीको रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएका उनीहरुको थ्रोट स्वाब संकलन नगरी घर पठाइएको हो ।

बिरामीका परिवारलाई अस्पताल पुर्‍याउने सबैजनालाई सोमबार बेलुकी घर पठाइएको हो । ज्वरो आएमा, रुघा खोकी लागेमा अस्पताल आउने सर्तमा उनीहरुलाई घरमै क्वारेन्टाइन पठाएको भन्दै सामाजिक सञ्जालमा नगरबासीले विरोध गरेका छन् ।

परिवारका व्यक्तिले ती युवककी श्रीमती र छोरीको मात्रै थ्रोट स्वाब संकलन गरेर पठाइ दिन आग्रह गरेपनि नमानेको बताइएको छ । ‘सबैभन्दा बढी नजिक हुने श्रीमती र छोरी हुन्। उनीहरुलाई नेगेटिभ देखिए, अरु सबैले पनि ढुक्क हुनेस्थिति हुन्थ्यो, ‘बिरामीका एकजना आफन्तले भने। स्वास्थ्य सेवा विभागका डाक्टर अमृत पोखरेलले पनि कोरोनाका लक्षण देखिएको व्यक्ति, दीर्घरोगी र चिकित्सक वा स्वास्थ्यकर्मी बाहेकलाई सामान्य अवस्थामा थ्रोट स्वाब संकलन नगर्ने गाइडलान रहेको बताए।

डाक्टर पोखरेलसहितको टोलीले मंगलबार धनगढीमा पत्रकार सम्मेलनमा चिकित्सक, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्थानीय जनप्रतिनिधिलाई कोरोनाका बारेमा जानकारी गराएको थियो ।
सेती प्रादेशीक अस्पतालमा मात्रै अहिलेसम्म २६ जनाका थ्रोट स्वाब संकलन गरी टेकुमा पठाएकोमा १९ जनाको नेगेटिभ आएको अस्पतालले जनाएको छ। ६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्