कोभिड–१९ः ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो, सात लाख ८५ हजार बढी संक्रमित(अपडेट)


 


एजेन्सी, चैत्र १८
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय १० पुगेको हो । ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जना रहेका छन् । त्यस्तै, स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन् । चीनमा पनि मृत्यु हुनेको संख्या तीन हजार तीन सय नौ पुगेको छ भने अमेरिकामा पनि ज्यान गुमाउने तीन हजार ४० पुगेका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर समग्र संक्रमितको संख्या सात लाख ८५ हजार नाै सय ९७ पुगेकाे छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ । इटालीमा समग्र संक्रमित एक लाख एक हजार नाघेका छन् । त्यस्तै, स्पेनमा समग्र संक्रमितको संख्या ८७ हजार नाघेको छ भने चीनमा ८२ हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ।

चीनमा यो भाइरस संक्रमण पुष्टि भएपछि निको भएर घर फर्किने मानिसको संख्या ७६ हजारभन्दा धेरै छ । स्पेनमा करिब १७ हजार मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १४ हजारभन्दा धेरै भाइरस संक्रमण पछि निको भएर घर फर्किएका छन् । त्यस्तै, इरान र जर्मनीमा पनि १३ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।

एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ । दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ६९० सङ्क्रमित छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा एक हजार १ सय जना भन्दा बढी सङ्क्रमित छन् भने ३५ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्