कोरोनाले लियाे ३६ हजारभन्दा बढीको ज्यान, सङ्क्रमितको सङ्ख्या ७ लाख ५२ हजार


 


एजेन्सी, चैत्र १८
कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण विभिन्न मुलुकबाट उपलब्ध तथ्याङ्कअनुसार सोमबार साँझसम्ममा ३६ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने ७ लाख ५२ हजार ७ सय ४७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमणका कारण विश्वभर २४ घण्टामा मात्रै २ हजार १६१ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको देखिएको छ । दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो सङ्ख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण सङ्ख्या अत्यधिक बढेको जनाएको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ११ हजार ५९१ व्यक्तिको मृत्यु भएको छ भने १ लाख १ हजार ७३९ व्यक्ति सङ्क्रमित भएका छन् ।

स्पेनमा ८५ हजार १९५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ३४० जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ४७० सङ्क्रमित भएकोमा तीन हजार ३०४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ । चीनमा विगत २४ घण्टामा थप ३१ जना सङ्क्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् भने यो अवधिमा चार जनाको मृत्यु भएको छ । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोनासङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।

जर्मनीमा सङ्क्रमित ६३ हजार ९ सय २९ पुष्टि भएको छ भने ५६० जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ सङ्क्रमण र दुई हजार ७५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ व्यक्तिमा सङ्क्रमण, दुई हजार ६०६ जनाको मृत्यु, बेलायतमा २२ हजार १४१ व्यक्तिमा सङ्क्रमण, एक हजार ४०८ जनाको मृत्यु भएको छ ।

एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ । दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ६९० सङ्क्रमित छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा एक हजार १ सय जना भन्दा बढी सङ्क्रमित छन् भने ३५ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्