कोरोना संक्रमित युवतीसँगै आएकासहित १७ जनाको रिपोर्ट यस्ताे आयाे


 


सुर्खेत, चैत्र १७
कर्णालीमा हालसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ। कोरोना भाइरस कोभिड-१९ को संक्रमण भएको आशंकामा कर्णालीबाट १७ जनाको नमूना काठमाडौं पठाइएको थियो। सोमबारसम्म सबैको रिपोर्ट आएको छ भने १७ जनामै कोरोनाको संक्रमण नदेखिएको पुष्टी भएको छ।

कोरोनाको संक्रमण फैलिएको भारतलगायत अन्य देशबाट फर्किएकाहरुमा संक्रमणको आशंका गरिएको थियो। शंकास्पद १७ जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो। प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले हालसम्म नमूना परीक्षण गरिएका कर्णालीका १७ जनामै कोरोना संक्रमण नदेखिएको रिपोर्ट आएको जानकारी दिए। कर्णालीबाट कोरोना परीक्षणका लागि स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं पठाइएको थियो।

प्रदेश अस्पताल सुर्खेतका डाक्टर केएन पौडेलका अनुसार परीक्षणका लागि नमूना पठाइएका मध्ये रुकुपश्चिमका एक र सुर्खेतका एक जनाको रिपोर्ट पोजेटिभ आउनसक्ने आंशका धेरै गरिएको थियो। उनीहरु यसअघि नेपालमा कोरोना संक्रमण भएकी युवती सवार जहाजबाटै नेपाल आएका थिए। तर उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ। ‘हालसम्म नमूना परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ’ मन्त्री राववले भने ‘यो कर्णालीका लागि सुखद् हो। परीक्षणका लागि थप नमूना काठमाडौं पठाउन लागेका छौं। जुम्लाबाट तीन र सल्यानबाट पाँच जनाको नमूना संकलन भएको छ।’ संकलन भएको आठ जनाको नमूना मंगलबार काठमाडौं पठाइने उनको भनाइ छ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्