लकडाउन कडा बनाउने सरकारकाे निर्णय, बाहिर निस्कनेलाई ६ महिना कैद


 


काठमाडौँ , चैत्र १५
लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्‍ने र भारत या तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताए। ‘क्‍वारेन्टाइनमा बस्न इन्कार गर्ने, क्‍वारेन्टाइनमा बस्न नमान्ने या लुकेर गाउँघरमा बस्ने, जति सम्पर्क गर्दा पनि कन्ट्याक्टमा नआउने भइरहेको छ,’ बिडारीले भने,‘यो खालको प्रवृत्तिलाई संक्रमण रोग ऐनबमोजिम कडाइका साथ कारबाही गर्ने निर्णय भएको छ र यसलाईगृहप्रशासनले कारबाही अगाडि बढाउँछ।’

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ। कुन कारबाही गर्ने भन्ने निर्धारण प्रमुख जिल्ला अधिकारीको तजबिजमा हुने व्यवस्था ऐनमा छ। बैठकले दिनभरी ड्युटी गरेर साँझ घर फर्किने सुरक्षाकर्मीलाई घरबेटीले दु:ख दिने गरेको रिपोर्ट आएको भन्दै त्यसो नगर्न घरबेटीहरूलाई सचेत पनि गराएको छ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्