कोरोना महामारीको चिन्ताले जर्मनीका मन्त्रीले गरे आत्महत्या


 


जर्मनी, चैत्र १५
कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटका कारण जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् ।

जर्मनीको हेसे राज्यका अर्थमनत्री थोमस स्याफरले शनिबार आत्महत्या गरेका हुन् । स्थानीय मिडियाका अनुसार कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित थिए ।
कोरोनाबाट अति प्रभावित देशमध्ये जर्मनी पनि एक हो । अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार उनको शव रेलको लिकमा भेटिएको थियो ।

उनले रेलको लिकमै गएर आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । फ्र्यांकफर्ट र मान्जबीच पर्ने होचेमको रेलको लिकमा उनको शव भेटिएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार उनले सुसाइट नोट समेत लेखेका थिए ।

१० वर्षदेखि अर्थमन्त्रीको भुमिका रहेका उनी जर्मन चान्सलर एन्जेला मर्केलको पार्टीमा आवद्ध थिए । कोरोना भाइरसका कारण जर्मनीमा ५८ हजार २ सय ४७ संक्रमित हुनुका साथै ५ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्