नेदरल्याण्डमा पनि देखियो चिनियाँ मेडिकल सामग्रीमा समस्या


 


एजेन्सी । गुणस्तर मापदण्ड पुरा गर्न नसकेपछि नेदरल्याण्ड्स सरकारले आफ्ना अस्पतालहरुबाट चीनमा उत्पादित करिब ६ लाख मास्कहरु फिर्ता मागेको छ । स्थानीय सञ्चारमाध्यमहरुको अुनसार ती मास्कहरु चीनबाट आयात गरी कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न नेदरल्याड्सका अस्पतालहरूमा पठाइएको थियो तर अहिले ती मास्कहरु फिर्ता लिने निर्णय गरिएको हाे ।

नेदरल्याड्समा १८०० भन्दा बढी कोरोनाभाइरसका संक्रमित छन् भने यसबाट ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । नेदरल्याड्सले २१ मार्चमा चिनियाँ निर्माताबाट मास्क आयात गरेको थियो ।

चिनीयाँ निमार्ताबाट एफएफपी २ श्रेणीका मास्कहरुको अर्डर दिइएको थियो जसले हावामा रहेको ९४ प्रतिशत ठोस र तरल कण फिल्टर गर्नुपर्दछ । तर चीनबाट पठाइएको मास्कको गुणस्तर मापन गर्नेे क्रममा ती मास्कहरुको त्यस स्तरमा कणहरुको फिल्टर गर्न नसकेको पाइएपछि नेदरल्याड्सको सरकारले सो माक्सहरु कोभिड–१९को संक्रमण सार्ने सक्ने कणहरुको फिल्टर गर्न नसक्ने भन्दै अस्पतालहरुबाट फिर्ता मागेको छ । यसरी चीनबाट आयातित मेडिकस सामाग्रीमा खोट देखिएको नेदरल्यान्ड्स तेश्रो मुलुक हो ।

चीनियाँ किटहरु ३० प्रतिशत विरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै स्पेनले चिनियाँ किटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । स्पेन आयात गरिसकेको किटहरु फिर्ता पठाउने निर्णय समेत गरिसकेको छ । यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरुले पनि सही नतिजा नदिएको पाइएको थियो ।

विश्वसनीयतामा प्रश्न उठेपछि नेपाल ल्याउन लागिएको चीनमा उत्पादित कोभिड–१९ परीक्षण किट हिजैमात्र बाटैमा रोकिएको थियो । गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस कोभिड–१९ को परिक्षण गर्न मिल्ने किट नेपाली दूतावासलाई उपलब्ध गराएको थियो ।

सो किटहरु आइतबार काठमाडौं आईपुग्ने तोकिएको थियो तर शनिबार तिब्बतको ल्हासामा मै रोकियो । चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले उक्त किटहरु निर्यातयोग्य नरहेको भन्दै ल्हासामै रोकिदिएको थियो । यद्पी हवाईमार्गबाट आजमात्रै चीनमा कोभिड–१९ सम्बन्धि मेडिकल सामाग्रीहरु आयात गरिएको छ । सरकारले उक्त सामाग्री छिट्टै वितरण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्