लकडाउन उल्लङ्घ गर्ने ६०० लाई सडकमै दुई घण्टा कक्षा


 


काठमाडौं, चैत्र १६
कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर २ घण्टा सचेतना कक्षा दिएको छ ।

नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो ।

सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो । यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो भने आजदेखि २ घण्टा सडकमै राखेर कक्षा दिन थालिएको हो ।

पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।

आदेश उल्लङ्न गर्नेविरुद्ध कारवाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज बिहान ७ः३० बजेसम्म्मा मात्रै ५१२ पुरुष र १०५ महिलालाई सडकमै होल्ड गरेर कक्षा दिइएको हो ।

उनीहरुलाई सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा होल्ड गरिने र रोगको बारेमा जानकारी गराइने छ । सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ । उपत्यकाको तीनै जिल्लामा उक्त नियम लागू गरिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ ।

अहिलेसम्म नेपालमा पाँच जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्