२० घण्टामा प्रधानमन्त्री डिस्चार्ज


 


काठमाडौं, चैत्र १५
मुटुको चालमा समस्या भएपछि आकस्मिक रूपमा अस्पताल लगिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणपछि शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओलीलाई असहज महसुस भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार राति भर्ना गरिएको थियो । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुटुको धड्कन बढ्ने समस्याका कारण ओलीलाई बिहीबार राति साढे ११ बजे अस्पताल लगिएको थियो ।

उनको सम्पूर्ण स्वास्थ्य परीक्षणपछि पूर्ण स्वास्थ्यलाभ गरी डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताए । डिस्चार्जपछि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किएका थिए । ‘विभिन्न परीक्षण गरियो’, निर्देशक डा. श्रेष्ठले भने, ‘पूर्ण स्वास्थ्यलाभपछि साँझ डिस्चार्ज गरियो ।’

प्रधानमन्त्री करिब २० घण्टा अस्पतालमा रहेका थिए । उक्त अवधिमा मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गरिएको थियो । प्रधानमन्त्री ओलीको २४ दिनअघि दोस्रो पटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी गत फागुन ३० गते उनी डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्