कोरोना महामारीः विश्वभर २५ हजार बढी व्यक्तिको मृत्यु, लाखाैं संक्रमित


 


एजेन्सी, चैत्र १५
विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २५ हजार ४२२ जनाको मृत्यु भैसकेको छ । विश्वभर ५ लाख ६६ हजार ६४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा ८ हजार २१५, स्पेनमा ४ हजार ९ सय ३४, चीनमा ३ हजार २९२, इरानमा २ हजार ३७८, फ्रान्समा १ हजार ६९६ र अमेरिकामा १ हजार ३८२ जनाको मृत्यु भएको छ ।

केही समयसम्म सङ्क्रमितको दर चीन तथा यूरोपेली मुलुकमा बढी रहँदै आएकोमा बिहीबारदेखि सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकामा देखिएको छ । अमेरिकामा ९३ हजार १५१, चीनमा ८१ हजार ३४०, इटलीमा ८० हजार ५८९, स्पेनमा ६४ हजार ५९, जर्मनीमा ४९ हजार ३४४, इरानमा ३२ हजार ३३२ र फ्रान्समा २९ हजार १५५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सम्बन्धित देशले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

चीन र इरानबाहेकका एशियाली मुलुकहरूमा सङ्क्रमणको बढी प्रभाव दक्षिण कोरिया र जापानमा रहेको छ । जापानमा एक हजार ३८७ जना सङ्क्रमित रहेकोमा ४७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा नौ हजार ३९१ व्यक्ति सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ ।

जापान र दक्षिण कोरियामा फेब्रुअरीको अन्त्यदेखि तथा मार्चको सुरूसम्ममा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको भएपनि पछिल्ला केही हप्ता सङ्क्रमण र मृत्युदरमा उल्लेख्य नियन्त्रण देखिएको छ ।

दक्षिण एशियाली मुलुकहरूमा पाकिस्तानमा सबैभन्दा बढी एक हजार २५२ जना कोभिड–१९का कारण सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । भारतमा ७९९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

श्रीलङ्कामा १०६ व्यक्तिमा सङ्क्रमण, अफगानिस्तानमा ९४व्यक्तिमा सङ्क्रमण चारको मृत्यु, मालदिभ्समा १४ जनामा सङ्क्रमण र नेपाल र भूटानमा तीन÷तीन जनामा सङ्क्रमण पुष्टिभएको छ । नेपालमा सङ्क्रमित तीन जनामध्ये एक जना निको भै घर फर्किसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्