अन्तत: कोरोना नियन्त्रणका विषयमा ट्रम्प र सीबीच भयाे यस्ताे कुराकानी


 


काठमाडौं, चैत्र १४
अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चिनियाँ समकक्षी सीसँग कुराकानी भएको बताएका छन्। साथै उनले कोरोना भाइरसको नियन्त्रणका लागि सँगसँगै अगाडि बढ्ने पनि बताएका छन्। ‘भर्खरै चीनका राष्ट्रपति सीसँग प्रभावकारी कुराकानी भएको छ। हामीबीच पूरा विश्वलाई तहसनहस बनाएको भाइरसको बारेमा कुराकानी भयो। चीनले धेरै काम गरिसकेको छ र उसलाई भाइरसका बारेमा राम्रोसँग थाहा छ। त्यसैले हामी मिलेर अघि बढ्दैछौँ। धेरै सम्मान,’ ट्रम्पले लेखेका छन्।

यसअघि ट्रम्पले कोरोना भाइरसलाई ‘चाइना भाइरस’ बताउँदै आएका थिए। आज भने उनले ‘भाइरस’ मात्रै भनेका छन् । त्यस्तै चिनियाँ सहयोग लिएर अमेरिकामा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा लिने संकेत गरेका छन्।

अमेरिका कोरोना भाइरसको संक्रमणका हिसाबले अहिले पहिलो नम्बरमा रहेको छ। शुक्रबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ८५ हजारभन्दा बढी पुगेको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ। चीन इटालीपछि अब अमेरिकालाई कोरोना भाइरसको इपिसेन्टर मानिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको नियन्त्रणका लागि पूरा विश्व एक भएर लड्नुपर्ने बताउँदै आएका छन्। पछिल्लो समय चीनमा भाइरसको संक्रमण नियन्त्रणउन्मुख रहेको छ। चीनले पछिल्लो समय विभिन्न देशमा व्यक्तिगत सुरक्षा उपकरण, औषधि र चिकित्सक पठाइरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्