‘लकडाउन’काे उल्लघंन गरेपछि दाईले गरे भाइको हत्या


 


काठमाडाैं, चैत्र १४
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूप लिएकाे कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भारत सरकारले २१ दिनकाे लागि ‘लकडाउन’ घोषणा गरेको छ। साेही ‘लकडाउन’ नमानेको भन्दै आफ्नै दाईले भाइको हत्या गरेका छन् । मुम्बईको कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका आफ्ना भाई दुर्गेसको हत्या गरेका हुन्।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार राजेशले भाईलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाईको आदेश नमान्दै भाई घरबाहिर निस्किन पुगे । यही कुरामा दुवैबीच झगडा भयो ।

झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषणा गरे । ‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाईको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । दुर्गेस पुनामा वेटर काम गर्ने र ‘लकडाउन’को बेला घर आएका थिए । ‘लकडाउन’का कारण एक हप्ता अघि मात्रै उनको जागिर गुमेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्