क्‍वारेन्टाइनमा बस्ने सर्तमा फेरि नाकाबाट भित्रिए ३१ नेपाली


 


भैरहवा, चैत्र १३
क्‍वारेन्टाइनमा बस्ने सर्तमा फेरि सीमानाकाबाट ३१ नेपाली भित्रिएका छन्। सुनौली नाका हुँदै नेपाल आएका उनीहरूलाई क्‍वारेन्टाइनमा रहने गरी बिहीबार नेपाल प्रवेश अनुमति दिइएको हाे

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नेपालीको क्‍वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई नेपाल आउने अनुमति बिहीबार १० बजेतिर दिइएको बताए । उनका अनुसार सिरयारी गाउँपालिकाको क्‍वारेन्टाइनमा १० जना, तिलोत्तमा नगरपालिकाको क्‍वारेन्टाइनमा ११ र शुद्धोधन गाउँपालिकाको क्‍वारेन्टाइनमा १० जना रहने गरी उनीहरुको उद्धार गरिएको हो ।

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि भारत र नेपालमा लकडाउन गरिसकेपछि पनि सुनौली नाकामा आइपुगेका ती नेपालीले नेपाल आउने अनुमति पाएका थिएनन् । नेपाल आउने अनुमति नपाउने र भारततर्फ नै फर्काउने कुनै व्यवस्था नहुँदा ती सबैजना बुधबार बिहानदेखि अलपत्रमा परेका थिए ।

उद्धार गरिएकामध्ये झापा, लुम्बिनी, रुपन्देहीको मणिग्राम, नवलपरासीको कावासोती र पाल्पाका हुन् । उनीहरु भारतको बैंग्लोर, गुजरात र बनारसलगायत स्थानबाट आएका थिए । आउनेमध्ये ६ जना महिला थिए । जसमध्ये ४ जना विद्यार्थी र अन्य रोजगारीका लागि भारत गएका थिए ।

यसअघि सुदूरपश्चिमकाे महेन्द्रनगर नाकाबाट सयाैँकाे संख्यामा नेपालीहरू भित्रिएका थिए।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्