अमेरिकामा फसिन् सौन्दर्या


 


लस एन्जलस, चैत्र १३
कोरोना भाइरस महामारीबीच बलिउड नायिका सौन्दर्या शर्मा अमेरिकाको लस एन्जलसमा फसेकी छन्। ‘राँची डायरिज (२०१७)’, ‘मेरठिया ग्यांगस्टर्स (२०१५)’ जस्ता फिल्मकी नायिक उनी अमेरिका अध्ययनका लागि गएकी थिइन्। कोरोना भाइरसका कारण अमेरिकामा पठनपाठन थप्प छ।सौन्दर्याले भारत फर्कने कोसिस गर्दा तीन पटक फ्लाइट क्यान्सिल भएको जनाएकी छन्।

आफू निकै चिन्तित बताउँदै उनले भनेकी छन्, ‘मेरा तीन उडान पैसा फिर्ता नदिइकनै क्यान्सिल गरिएका छन्। भारतमा मेराअभिभावक पनि साहै्र चिन्तित छन्।’

सौन्दर्याले भनिन्, ‘मैले आफूलाई घरमै आइसोलेसनमा राखेकी छु। अत्यावश्यक कामबाहेक घरबाट निस्किएकी छैन। घरमा नै योगा गर्छु। म शाकाहारी हुँ। खाना पनि घरमा नै बनाउँछु।’

आफूलाई व्यस्त राख्न उनी अनलाइनमार्फत स्पेनिस भाषा सिकिरहेकी छन्। साथै, नाटक पनि लेखिरहेकी छन्। दैनिक हनुमान चालिसा र दुर्गा चालिसा सुनेर चाँडै नै आफ्नो घर फर्कने प्रार्थना गरिरहेकी छन्।

सौन्दर्याले भारतीय दूतावासमा फोन गरेको, इमेल पनि पठाएको तर दूतावासको तर्फबाट आएको जवाफ सकारात्मक नरहेको जनाएकी छन्। भारतले बुधबार रातिदेखि २१ दिनका लागि लकडाउन गरेकाले सौन्दर्यालगायत अरूलाई उद्धार गर्ने अवस्था देखिन्न। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जो जहाँ छ, त्यही सुरक्षित रूपमा घरभित्र बस्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्