आर्थिक क्षतिमा सघाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आग्रह
काठमाडौं, चैत १३
अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको त्रासबाट अर्थतन्त्रमा पुग्ने क्षतिमा सघाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आग्रह गरेका छन् ।
कोरोना महामारीको असरबाट पुग्ने क्षतिलाई पूर्ति गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विशेष सहयोग आवश्यक पर्ने अर्थमन्त्र्रीले बताएका हुन् ।
दक्षिण एसियाली राष्ट्रहरूका अर्थमन्त्री, अन्य सरकारी अधिकारी, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीबीच कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरसम्बन्धी भएको छलफलमा अर्थमन्त्री खतिवडाले सहयोगको आवश्यकता औँल्याएका हुन् ।
भिडियो कन्फरेन्समार्फत भएको छलफलमा उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहयोग तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताएका हुन् ।
छलफलमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरस महामारीबाट पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राखे ।
यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रूपमा प्रभाव पारेकाले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको समेत उनले बताए ।
‘राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको छ,’ उनले भने, ‘त्यसैले कोरोना प्रभावबाट भएको क्षतिपूर्ति गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकहरूका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले विशेष सहयोग गर्नुपर्छ, क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र पनि उपयोग गर्नुपर्छ ।’
अर्थमन्त्रीले खतिवडाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले नेपालमा परेको असर र नेपाल सरकारले रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयासबारे पनि जानकारी गराएका थिए । नयाँ पत्रिका
प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार