राजकुमार चार्ल्सलाई कोरोना संक्रमण, पत्नीमा देखिएन


 


लन्डन । बेलायती राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमणको पुष्टि क्लारेन्स हाउस (शाही निवास) ले गरेको बीबीसीले उल्लेख गरेको छ । राजकुमार चार्ल्सको औपचारिक निवास क्ल्यारन्स हाउसले उनलाई कोरोनाभाइरस संक्रमण भएको उनको पुष्टि गरेको हो । तर उनको स्वास्थ्यावस्था राम्रो भएको उनका प्रवक्ताले बताएका छन् ।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ । तर उनमा भाइरस भएको देखिएन । चार्ल्स र उनकी पत्नी कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

राजकुमार चार्ल्समा कसको सम्पर्कमा आएका कारण कोरोना भाइरसको संक्रमण भयो भन्नेबारे भने केही खुलेको छैन। राजकुमार चार्ल्समा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने राम्राे रहेको बेलायती अधिकारीहरुले जानकारी दिएका छन्।

केही सातायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएको र कसबाट राजकुमारमा भाइरस संक्रमण भयो भन्ने पत्ता लगाउन सम्भव नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ । बेलायतमा बुधबार दिउँसोसम्म ८ हजार ७७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४२२ जनाको मृत्यु भएको छ। एजेन्सी

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्