अन्तत: चिनियाँ नाका खोल्ने सरकारको निर्णय


 


काठमाडौँ, चैत्र १२
चिनतर्फका दुई नाकाबाट समान आयात/निर्यात गर्ने गरी खुलाउने निर्णय सरकारले गरेको छ । माघ १५ देखि बन्द उक्त नाका खुलाउनकाे लागि केही दिन अघिदेखि छलफल चलिरहेकाे थियाे। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने,’ निर्णयमा भनिएको छ, ‘यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने।’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द छ। ‘चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिंडेका करिब २ सय कन्टेनर रोकिएको र त्यो नाका बन्द गर्ने औपचारिक निर्णय नेपालले नगरेकाले’भन्दै तत्काल सामान आवतजावत सुरु गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई भनिरहेको थियो।

सामान आयात निर्यात बाहेकको क्रियाकलापका लागि चीन र भारततर्फको नाका बन्द गर्ने निर्णय गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ। ‘दुवै देशबाट समान ल्याउन पाइने भएकाले चीनतर्फको पनि बन्द नाका खोल्न गृहकार्य’ गत साताबाट सुरु भएको थियो।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्