कोरोनाबाट जोगिन भारतीय नागरिक डुङ्गा चढेर नेपालमा, जनता त्रसित


 


काठमाडाैँ, चैत्र १२
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथामका लागि सरकारले विभिन्न कदमहरू चालेकाे छ। साेही क्रममा नेपाल सरकारले एक साताकाे लकडाउनका समेत गरेकाे छ। लकडाउनकाे कारण सीमा नाका बन्द भएकाले भारतीय नागरिक डुङ्गा चढेर नारायणी नदी हुँदै नेपाल प्रवेश गरेको खुलासा सुरक्षा निकायबाट भएकाे छ।

लकडाउन भएको समयमा भारतीय नागरिकलाई डुङ्गाबाट नारायणी नदी पार गराउँदै नेपालतर्फ नवलपरासीको सुस्ता गाउँपालिका–३ रेवाका रमाकान्त विनले ल्याएका हुन् । ती भारतीय बिहार राज्यको पश्चिम चम्पारन बाल्मिकीनगर बगाहास्थित चुलभट्टा जंगलको बाटो हुँदै नारायणीमा डुङ्गा तरेर रेतामा रहेको ए ग्याप बाँधबाट बन्धा टोलमा प्रवेश गरेको सुस्ता–५ बन्कट्टीकी उमा विनले बताइन् । उमा पनि ती भारतीय नागरिकसँगै नेपाल प्रवेश गरेकी हुन् । उनी छोरीको घर भारतको कुसीनगर गएर फर्किकी हुन् । उमासँगै रमाकान्तको डुङ्गाबाट पाँचजना भारतीय नागरिक नेपाल प्रवेश गरेका छन् ।

डुङ्गामा भारतीय नागरिकलाई नेपाल भित्र्याउने रमाकान्तलाई सशस्त्र प्रहरी सीमा सुरक्षा बल सुस्ता र सीमा सुरक्षा बल विनयी त्रिवेणीले नियन्त्रणमा लिएर मंगलबार राति ९ बजे सुस्ता–२ मा रहेको कुडिया प्रहरी चौकीमा जिम्मा लगाएका थिए । तर, कुडिया चौकीले भने रमाकान्तलाई ३० मिनेट पनि नराखी छाडेको छ । चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक ओमदेव भाट क्षेत्रीले रमाकान्त नेपाली नागरिक भएकाले छाडेको बताए ।

नवलपरासीको भारतसँग सीमा जोडिएका नाका सिल गरिए पनि नाकाबाहेक क्षेत्रबाट भारतीय नेपाल प्रवेश गर्ने क्रम नरोकिएको सीमा क्षेत्रका स्थानीयहरुले बताए । भारतीय नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि आफूहरु त्रसित बनेको सुस्ता–२ का ज्ञानप्रसाद पाठकले बताए ।

स्राेतका अनुसार यसबाहेक रमाकान्तले करिब ३० जना भारतीय नागरिकलाई नेपालतर्फ ल्याएका बताइएको छ । नेपाल प्रवेश गरेका भारतीय नागरिक कहाँ छने भन्ने जानकारी छैन ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्