कसरी लाग्याे १९ वर्षीया नेपाली किशाेरीलाई काेराेना भाइरस?


 


काठमाडौं, चैत्र १०
फ्रान्सबाट कतार हुँदै नेपाली आएकी एक १९ वर्षीया किशाेरीमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ । फ्रान्सबाट आएकी १९ वर्षीया ती नेपाली युवती चैत ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिइन् । उनको विमानस्थलको हेल्थ डेस्कमा ज्वरो नापियो । तर १००.४ डिग्री भन्दा माथि ज्वरो नभएपछि उनी सजिलै घर पुगिन् ।

घर आएको दुई दिनपछि बिहीबार उनलाई अप्रत्याशित खबर आयो, ‘फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई कोरोना संक्रमण पुष्टि भयो।’

साथीलाई कोरोना संक्रमण भएको खबरले उनी डराइन् । लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सम्पर्क गरिन् र भोलिपल्ट शुक्रबार अस्पताल पुगिन् । अस्पताल पुग्दा उनलाई रुघाखोकी र ज्वरो आएको थियो । चिकित्सकले उनलाई अस्पतालको आइसोलेटेड बेडमा बस्न आग्रह गरे, तर स्वाबको नमुना दिएर घर फर्किइन् । आइतबार राति रिपोर्ट आयो, पोजेटिभ ।

भियतनामको साथीलाई जस्तै उनलाई पनि कोरोना भाइरसको संक्रमण भएको रहेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, टेकुले स्वास्थ्य मन्त्रालय र टेकु अस्पताललाई उनी कोरोना संक्रमित भएको जानकारी गराउँदा रातको साढे १० बजेको थियो । लगत्तै अस्पतालले उनलाई सम्पर्क गर्‍यो, र अस्पताल भर्ना गरेर उनलाई अहिले आइसोलेसन वार्डमा राखियो ।

चैत ४ गते नेपाल आएकी ती किशाेरीकाे रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

उनका अनुसार किशाेरीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने छ। उताबाट आएपछि किशाेरीलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्