‘लकडाउन’का लागि तयारी गर्न सबै पृतनालाई मुख्यालयकाे निर्देशन


 


काठमाडाैँ, चैत्र १०
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा फैलिए लकडाउन गर्ने तयारी गर्न सबै पृतनालाई नेपाली सेनाको मुख्यालयले निर्देशन दिएको छ । जंगी अड्डाले पृतनाहरूलाई तयारीसहित लकडाउनको विस्तृत कार्ययोजना बनाउनसमेत निर्देशन दिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वव्यापी बनेको छ । इटालीले बेलैमा लकडाउन नगर्दा स्थिति जटिल बनेकाले पनि नेपालले दिनदिनै जस्तो थप कडा कदम चाल्दै आएको छ । सेनाले देशभर दुई हजारभन्दा बढी आइसोलेसन कक्ष निर्माण गर्नुका साथै संक्रमितको उपचार गर्न क्वारेन्टाइन वार्डसमेत तयारी अवस्थामा राखेको छ ।

सेनाले पूर्वतयारी स्वरूप उपत्यका पृतनासहित सातवटै पृतनालाई यस्तो निर्देशन दिएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रण गर्न लकडाउनको तयारी अवस्थामा रहन यस्तो निर्देशन दिइएको जानकारी दिए

के हो लकडाउन ?
लकडाउन भनेको सम्पूर्ण रूपमा बन्द गर्ने अवस्था हो । लकडाउन भए आवतजावत पूर्णरूपमा बन्द हुन्छ । लकडाउनको अवस्था पूर्ण कार्यान्वयन गर्न नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसमेत परिचालन हुन्छन् ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्