जमुनी मधेपुरामा झाडापखालाको प्रकोप, ६० जना बिरामी


 


jhadapakhalako-prakop

राजविराज, भदौ ३० सप्तरीको जमुनी मधेपुरा गाविस–२ मा विगत चार दिनदेखि झाडापखालाको प्रकोप फैलिएको छ ।

चार दिनदेखि फैलिएको झाडापखाला प्रकोपले सो गाविसका २५ परिवारका करिब ६० जना व्यक्ति सिकिस्त बिरामी परेको बताइएको छ ।

सोही ठाउँका शङ्कर शर्मालगायत उनको श्रीमती र छोराछोरीलाई झाडापखाला लागेपछि सो गाविसका अधिकांश व्यक्तिमा फैलिएको र झाडापखालाले गाउँमा रहेका बालबालिका, वृद्धवृद्धासहितका व्यक्ति बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

फोहर दिसापिसाब र दूषित पानीका कारण हुने झाडापखाला अहिले जमुनी मधेपुरा गाउँमा फेलिएलगत्तै उक्त कार्यालयका जनस्वास्थ्य निरीक्षक राजनारायाण ठाकुरको नेतृत्वमा एक टोली त्यहाँ पुगेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी गराउनुभयो ।

झाडापखाला प्रकोपका कारण त्यहाँका प्रत्येक परिवारका एक– दुईजनामा यो रोग देखा परेपछि पीडित भएकालाई गाउँमै स्लाइनसहित औषधोपचार सुरु गरिएको छ ।

झाडापखाला प्रकोप नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी शुद्धीकरणका लागि त्यहाँ रहेका स्वास्थ्य कार्यालयले प्रयास गरिरहेको जनस्वास्थ्य अधिकृत झाले बताउनुभयो ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्