यी हुन् ९ गतेपछि खुल्ने र बन्द हुने कार्यालयहरु


 


काठमाडौं. चैत्र ८
सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ।

आज साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको यो सम्बोधनपछि आम जनमानसमा कुन–कुन कार्यालय खुल्छन् र कुन–कुन कार्यालय बन्द हुन्छन् भन्ने जिज्ञासा बढेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार राजपत्रमा भएका १९ बाहेकका सबै सेवा ९ गतेदेखि बन्द हुने छन् ।

त्यसो भए राजपत्रमा अत्यावश्यक सेवाअन्तर्गत के–के छन् त ?

१ डाँक तार वा टेलिफोन सेवा
२. जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
३. हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
६. हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
११. पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
१३. औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
१४. फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
१५. बैंकिंङ सेवा
१६. बीमा सेवा
१७. विद्युत सेवा
१८. दैनिक उपभाग्य वस्तुहरू ९खाद्यान्न, दाल चामल नुन तेल० को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा

प्रधानमन्त्री कार्यालयका अनुसार यी बाहेकका अन्य कार्यालयहरु भने बन्द रहनेछन् ।

सरकारले बन्द गरेका सेवाहरु

– नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
– सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
– देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
– आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्‍चालनमा रोक लगाइएको छ ।
– मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
– विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्