काेराेना प्रभाव: यस्ता कैदीलाई छाड्ने तयारी


 


काठमाडौं, चैत्र ७
चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फैलिने सम्भावनालाई रोक्न कारागार व्यवस्थापन विभागले थुनावा र बन्दीसँग भेटघाटमा रोक लगाएको छ । काेराेना भाइरसको संक्रमण फैलन नदिन अर्को निर्णय नभएसम्म भेटघाटमा रोक लगाइएको विभागका प्रवक्ता देवर्षि सापकोटाले बताए ।

त्यस्तै कारागार व्यवस्था विभागले कैदीको चाप कम गर्न र सम्भावित संक्रमणलाई रोक्न पाँच हजारभन्दा बढी कैदीबन्दीलाई रिहा गर्न गृहकार्य समेत सुरु गरेको हाे । विभागको अनुरोधमा गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबीच कैद मिनाहा गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार असल चालचलन सुधार भएका, ५० प्रतिशत कैद भुक्तान गरेका, वृद्ध तथा बालबालिकाको बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको सापकोटाले बताए ।

हाल मुलुकभर रहेका ७२ वटा कारागारमा २५ हजार सात सय एकजना कैदीबन्दी छन् । जसमध्ये बालबालिका १२ सयभन्दा बढी छन् ।आधा कैद भुक्तान गरेका वृद्ध, महिला गरी पाँच हजारभन्दा बढीलाई बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको छ । गम्भीर प्रकृतिको जघन्य अपराध गरेकालाई भने कैद मिनाहा गरिने छैन ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्