भारतीय राजदूत र एनआईसीसीआईबीच लगानीको विषयमा छलफल


 


काठमाडौं, चैत्र ७
नव नियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कार्यसमिति पदाधिकारीहरुबीच औपचारिक शिष्टाचार भेट भएको छ । आज भारतीय राजदूताबास लैनचौरमा भएको भेटवार्तामा नेपाल–भारत ब्यापार तथा लगानीका क्षेत्रमा रहेका बिभिन्न पक्षहरुको बारेमा छलफल भएको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएकोे कार्यसमिति सदस्य टोलीले नेपाल–भारत द्विपक्षीय ब्यापार तथा लगानीको क्षेत्रमा नेपाल–भारत उद्योग वाणिज्य संघले बिगत २५ बर्ष देखि योगदान दिंदै आएको विषयमा भारतीय राजदूत क्वात्रालाई जानकारी गराएको थियो ।

सो अवसरमा अध्यक्ष राणाले अवका दिनमा पनि संघ नेपाल–भारत ब्यापार तथा लगानी बिकासको क्षेत्रमा सक्रिय नै रहने धारणा राख्दै संघका आगामी गतिविधीहरु भारतीय राजदूतलगायत भारतीय राजदूतावासको सक्रिय सहयोगको लागि अनुरोध गरेकी थिइन् ।

अध्यक्ष राणाले दोश्रो नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक सन् २०१८ जुलाई ६ मा काठमाडौंमा सम्पन्न भएको तथा प्रत्येक दुई दुई बर्षमा नेपाल र भारतले आलोपालो गरी नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक आयोजना गर्ने प्रावधान भएको समेत जानकारी गराइन् ।

अध्यक्ष राणाले यो बर्ष भारतमा हुने संयुक्त कार्यदलको बैठकका लागि भारतीय राजदूतावासको सक्रिय सहयोगको अपेक्षा गरेकी छन् ।

भेटवार्तामा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले संघले अबका दिनहरुमा नेपाल–भारत साझेदारी सम्मेलन (पार्टनरशीप समिट), काठमाडौं–कोलकाता मञ्च (केटूके फोरम), भारतको नयाँ दिल्लीमा एउटा इनोभेसन हाउसको स्थापना गर्ने योजनाको जानकारी गराएका थिए ।

उक्त योजनाबाट नेपालका नव उद्यमी (स्टार्टअप) हरुको लागि लगानीकर्तासँग समन्वय गर्न सघाउने एवं भारतीय लगानी नेपालमा भित्र्याउनेलगायतका कार्यक्रमहरु गर्ने योजना बनाए बमोजिम संघले कार्य गर्दै गरेको र उक्त कार्यहरुमा राजदूतावासको सहयोग आवश्यक रहको पनि उनले उल्लेख गरे ।

नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीसंगको शिष्टाचार भेटघाटका क्रममा भारतीय राजदूत क्वात्राले नेपाल–भारत उद्योग वाणिज्य संघले हालसम्म गरेका कार्यहरुको प्रशंसा गर्दै नेपाल–भारत दुई पक्षीय ब्यापार तथा लगानी प्रबद्र्धनको क्षेत्रमा संघले गर्ने कार्यहरुमा दूतावास सहकार्य गरी अघि बढ्न तत्पर रहेको आश्वसन दिएका थिए ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्