‘त्रासकै कारण आयोजनाको काम रोकिन्न’


 


काठमाडाैं, चैत्र ७
कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले स्वास्थ्य सुरक्षा सचेतना अपनाउँदै मेलम्चीको काम जारी रहने बताए।

‘दैनिक तीन सिफ्टमा कामदार काममा खटिन्छन्,’ उनले भने, ‘एक सिफ्टमा एक तिहाइ कामदार छरिएर काममा खटिने हुँदा भिडभाड छैन।’ उनका अनुसार कामदार ६ तिर छरिएकाले उनीहरु बस्ने, सुत्ने र खाने क्याम्पमा पनि भिडभाड छैन। विदेशबाट आउनुपर्ने सबै निर्माण सामाग्री नेपाल भित्रिसकेका छन्। भित्रिएका सामग्री केही आयोजनास्थलमा ल्याइसकिएको छ भने केही काठमाडौंमा छन्। निर्माण सामाग्री आपूर्ति गर्ने स्थानीयकै आठ उप–ठेकेदार कम्पनी रहेकाले निर्माणस्थलमा बाहिरी मान्छेको ओहोरदोहोर नहुने आयोजनाको दाबी छ। उनीहरु गिटी, बालुवा, सिमेन्ट, छड जस्ता सामाग्री आपूर्ति गर्ने प्रकृतिका ठेकेदार हुन्। गिटी, बालुवा स्थानीय नदीमै उपलब्ध छ।

‘आयोजना स्थलको अवस्था हेर्दा तत्काल काम रोक्नु पर्दैन,’ प्रवक्ता पन्तले भने। दुई दशक लामो सपना मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको छ। मुलुकमा कोरोना भित्रिएको खण्डमा या सरकारले काम रोक्न निर्देशन दिएको अवस्थामा भने आयोजना प्रभावित हुने छ। अहिले आयोजनामा बाँधस्थल बनाउने, साढे २६ किलोमिटर लामो सुरुङमार्गमा गेट राख्ने, अडिट टनेल बन्द गर्ने, भेन्टिलेसन (हावा बाहिर पठाउने प्वाल) खोप्ने, सुरुङमा अनुगमन उपकरण जडान गर्ने लगायत काम तीव्र रुपमा भइरहेको छ। सरकारले उपत्यकावासीलाई आगामी असारभित्र मेलम्ची पानी खुवाउने बाचा गरेको थियो। त्यो पूरा नहुने देखेपछि सरकारले असोजको नयाँ भाखा तोकेको छ। तर मेलम्ची राजधानी पुगेको सन्देश दिन आयोजनाले असारभित्र जसरी पनि पानी सुरुङमा छिराउने तयारीसाथ काम गरिरहेको छ। यसै साता मात्र मुहानस्थल अम्बाथानको झण्डै एक किमी सुरुङमा पानी छिराएर परीक्षण गरिएको थियो।

सुरुङमा पानी छिरापछि परीक्षण चरण पूरा गर्न एक महिना लाग्ने आयोजनाको अनुमान छ। सुरुङ र बाँधको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले आयोजनाबाट बोनस खाने दाबी गर्दै काम गरिरहेकाले असोजअगावै मेलम्ची पानी उपत्यका पुग्नेमा अधिकारीहरु आशावादी छन्। असोजसम्म सुरुङको काम सक्नु पर्ने ठेक्का सम्झौता छ। त्यसअगावै सुरुङ सके १० प्रतिशत बोनस दिने घोषणा आयोजनाले गरेको छ। ‘कोरोना भाइरस लगायत अन्य व्यवधानले काम नरोकिए छिट्टै पानी आउनेमा द्धिविधा छैन,’ प्रवक्ता पन्तले भने। कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्