किन धमाधम विमान चढेर नेपाल आउँदैछन् भारतीय नागरिक ?


 


काठमाण्डौ,चैत्र ६
चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस (कोभिड–१९)  बाट बच्नकाे लागि भारतीय नागरिक धमाधम विमान चढेर नेपाल आउन थालेका छन्।

कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि भारतका मानिसमा त्रास फैलिएको छ।  नेपाल  कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक भएकाेले त्यसबाट बच्नकाे लागि भारतीय नागरिकहरु धमाधम विमान चढेर नेपाल आइरहेका छन्‌।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुककाे सूचीमा राखिसकेको छ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकजसो हवाईमार्ग हुँदै भारतीयहरू नेपाल आउने क्रम बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलबाट दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन्।

भारतमा कोभिड-१९ को संक्रमणका कारण अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने १६९ जना संक्रमित भएका छन्‌। मानवीय हताहती बढेसँगै भारतीय नागरिकहरू त्रसित भई संक्रमणबाट जोगिन नेपाल आउन थालेको बताएका छन्‌। बुधबार मध्याह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका सिवाङ गुप्ताले भारतमा कोरोना भाइरस फैलिएपछि नेपाल आएकाे बताए।उनका अभिभावक नेपालमा ३० वर्षदेखि बसोबास गरेकोले यतै बस्न आएको उनले सुनाए। नेपालमा अहिलेसम्म नफैलिएकोले यहाँ सुरक्षित होला भनेर यतै बस्न आएको उनको भनाइ छ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्